जर्मन अटोनिर्माता कम्पनी फक्सवागनले नयाँ विद्युतीय गाडी उत्पादन गर्ने भएको छ।
अटोमोटिभ न्युज युरोपका अनुसार कम्पनीले आफ्नो जर्मनस्थित वुल्फ्सबर्ग प्लान्टमा नयाँ मोडलको ह्याचब्याग र नयाँ विद्युतीय एसयुभी उत्पादनको लागि ४८ करोड २० लाख अमेरिकी डलर (६३ अर्ब ६२ करोड ४० लाख नेपाली रूपैयाँ) लगानी गर्दैछ।
फक्सवागनले उत्पादन गर्ने नयाँ एसयुभीले एक पटकको पूरा चार्जमा ७०० किलोमिटरसम्मको माइलेज दिने बताइएको छ। यो कम्पनीको एमइबी इलेक्ट्रिक प्लेटफर्मको विकसित संस्करण, जसलाई एमइबी प्लस भनिन्छ, त्यसमा आधारित हुनेछ।
उक्त प्रणालीले गाडीको ब्याट्री छिटो चार्ज हुने र लामो समयसम्म टिक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) थोमस शेफरले बताएका छन्।
फक्सवागनको नयाँ विद्युतीय एसयुभी कम्पनीको आइडी४ र आइडी५ विद्युतीय एसयुभीको पूरक हुने बताइएको छ। नयाँ मोडलको नाम 'आइडी टिगुआन' हुनेछ भने कम्पनीले यसको उत्पादन सन् २०२६ देखि सुरू गर्ने बताएको छ।
यसबाहेक कम्पनीले नयाँ संस्करणको आइडी३ पनि सन् २०२३ देखि उत्पादन गर्नेछ। हाल कम्पनीको जर्मनस्थित वुल्फ्सबर्ग प्लान्टमा ६० हजार कर्मचारी सक्रिय छन्। यहाँबाट कम्पनीले गोल्फ, टाइगुन र टोरन मोडलको गाडी उत्पादन गर्दैछ।