भारतीय दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी प्योर इभीले नयाँ विद्युतीय बाइक सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार भारतीय बजारमा 'इको ड्रिफ्ट' नामक नयाँ विद्युतीय बाइक सार्वजनिक गरेको हो।
टाइम्स अफ इन्डियाका अनुसार इको ड्रिफ्टले एक पटकको पूरा चार्ज १३५ किलोमिटरसम्मको रेन्ज दिन्छ। कम्पनीले बाइक टेस्ट ड्राइभको लागि समेत उपलब्ध गराइसकेको छ।
तर हालसम्म यसको मूल्य तोकिएको छैन। कम्पनीले सन् २०२३ को जनवरी पहिलो साता बाइकको बुकिङ खुलाउँदै मूल्य निर्धारण गर्ने बताइएको छ।
नयाँ इको ड्रिफ्ट कालो, रातो, निलो र ग्रे गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। यसमा एंगुलर हेडल्याम्प र सिंगल पिस सिट दिइएको छ।
कम्पनीका अनुसार इको ड्रिफ्टमा एएसआई १५६ मान्यताप्राप्त ३.० किलोवाटआवरको ब्याट्री प्याक छ। यसलाई पूरा चार्ज हुन ६ घण्टा लाग्छ। बाइकमा ड्राइभ, क्रस ओभर र थ्रिल गरी तीन राइडिङ मोडहरू छन्।
बाइकको टप स्पीड ७५ किलोमिटर प्रति घण्टाको छ। कम्पनीले यसको सम्पूर्ण विशेषताहरू भने सार्वजनिक गर्न बाँकी छ।