सरकारले पुसदेखि गाडी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाखदेखि दस प्रकारका वस्तुको आयात प्रतिबन्ध गरेको थियो। भदौमा ६ प्रकारका वस्तु खुला गरे पनि मदिरा, स्मार्टफोन, साना चारपांग्रे (कार, जिप, भ्यान) र मोटरसाइकलको आयात अहिले बल्ल खुलेको हो।
लामो समयदेखि साना चारपांग्रे सवारी आयात गर्न नपाउँदा व्यवसायीहरू मर्कामा परेका थिए। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार देशभर ६० वटा हाराहारी शोरूम बन्द भए। सयभन्दा बढी शोरूमहरू बन्द हुने अवस्थामा पुगिसकेका थिए।
प्रतिबन्ध हट्दैमा अटो व्यवसाय चलायमान भने नहुने बताउँछन् अधिकांश व्यवसायी। बैंकिङ प्रणालीमा तरलता अभावका कारण अटो लगायतका कर्जा सर्वसुलभ रूपमा ग्राहकहले पाउन सकेका छैनन्। त्यस्तै सवारी आयात गर्दा नगद मार्जिन राख्नै पर्ने व्यवस्था र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जारी गर्ने चालु पुँजी कर्जामा समेत कडाइ गरेपछि आफ्नो क्षमता घटेको व्यवसायीहरूको भनाइ छ। यी र यस्ता विभिन्न नीतिले आफूहरूलाई समस्यामा पारेको भन्दै व्यवसायीहरूले आन्दोलन पनि गरिरहेका छन्।
तर प्रतिबन्ध फुकुवा भएसँगै केही व्यवसायीहरू उत्साहित पनि भएका छन्।
हामीले गाडी आयात र बजारबारे विभिन्न कम्पनीहरूसँग कुराकानी गर्यौं। सेतोपाटीसँगको कुराकानीमा केहीले लामो समयदेखि प्रतीक्षारत ग्राहकका निम्ति नयाँ गाडीहरू भित्र्याउने तयारी थालेको र केहीले भने स्टकमा भएकै गाडी बिक्री गर्न केन्द्रित हुने बताए।
टाटा मोटर्सः
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो। कम्पनीका वरिष्ठ मार्केटिङ प्रबन्धक रूपम श्रेष्ठका अनुसार बैंकको कर्जा प्रवाह सहज नहुँदासम्म अटो व्यवसाय फस्टाउन समस्या छ। प्रतिबन्ध खुलेसँगै गाडी आयात हुने तर नयाँ मोडल सार्वजनिक गर्ने भने तत्काल योजना नभएको उनले बताए।
'अहिले भएकै मोडलको नयाँ र अपग्रेड भेरियन्ट भित्र्याउने छौं,' उनले भने, 'नयाँ मोडलका गाडी भित्र्याउने योजना छैन।'
कम्पनीले नेक्सन इभीको अपग्रेड भेरियन्ट र थप रङ विकल्पमा नेपाली बजारमा उपलब्ध गराउनेछ। साथै छोटो समयमै गाडी डेलिभरी गर्ने योजना छ।
जीपः
प्रिमियम सेगमेन्टको गाडी किन्ने सोच भएका ग्राहकका लागि जीपले दुइटा नयाँ गाडी सार्वजनिक गर्ने भएको छ। कम्पनीका बिक्री सल्लाहकार सुदर्शन भट्टराईका अनुसार जीपले आगामी केही महिनामै 'जीप ट्रेलहक' र 'कम्पास मेरिडियन' सार्वजनिक गर्दैछ।
यी दुवै गाडी भारतमा सार्वजनिक भइसके। नेपालमा भने प्रतिबन्धका कारण भित्रिन सकेको थिएन। अबको केही महिनामा यी दुवै मोडल बजारमा आउने छन्।
यसबाहेक कम्पनीले हाल बिक्री गरिरहेका मोडल पनि भित्र्याउने उनले बताए।
'लामो समय प्रतिबन्धले हामीसँग भएका गाडीको स्टक लगभग सकिइसक्यो। त्यसैले ती मोडल पनि अबको दुई महिनाभित्र भित्र्याउने योजना हो,' भट्टराईले भने।
हाल नेपालका लागि जीप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफ हो।
मित्सुबिसीः
मित्सुबिसीले भने बजारका लागि कुनै तयारी गरेको छैन। कम्पनीका महाप्रबन्धक दिवस गुरूङका अनुसार कर्जा प्रवाह सहज नहुँदा स्टकमा भएका गाडी समेत अपेक्षित हिसाबले बिक्री हुन सकेका छैन।
उनले भने, 'अन्तर्राष्ट्रिय कम्पनीहरू नेपाली बजारमा गाडी भित्र्याउन डराइरहेको अवस्था सिर्जना भएको छ।'
हाल नेपाली बजारमा उपलब्ध मित्सुबिसीका विभिन्न मोडलमध्ये एसयुभी र पिकअप सेगमेन्टका गाडी रूचाइएको पाइन्छ।
सुजुकीः
प्रतिबन्ध खुलेसँगै सुजुकी बजारमा चार नयाँ मोडलका गाडी भित्र्याउने तयारीमा छ। कम्पनीका सहायक महाप्रबन्धक करण शाक्यका अनुसार कम्पनीले 'ग्रान्ड भिटारा', 'न्यु ब्रेजा', 'न्यु बलेनो' र 'अल्टो के-१०' भित्र्याउने भएको हो।
यी सबै मोडल भारतीय बजारमा सार्वजनिक भइसकेका हुन्।
'यी गाडी नेपालमा भित्रिन अझै ३५ देखि ४० दिन लाग्न सक्छ,' उनले भने, 'हामी नयाँ गाडी भित्र्याउन उत्साहित पनि छौं।'
शाक्यका अनुसार विगत ७ महिनामा कम्पनीले स्टकमा भएका गाडीहरू बेच्यो।
सुजुकी गाडीहरूको बिक्री वितरण सिजी मोटोकर्पले गर्दैछ।
स्कोडाः
स्कोडाले पनि अब नयाँ गाडी ल्याउँदैछ। कम्पनीका पदाधिकारी विराज श्रेष्ठका अनुसार स्कोडाले छिट्टै नेपाली बजरामा 'स्लाभिया' र 'स्कोडा मोन्टेकार्लो' सार्वजनिक गर्दैछ। यीबाहेक हाल बजारमा उपलब्ध मोडलको स्टक पनि थपिनेछ।
स्टक लगभग बिक्री भइसकेकाले कम्पनीले नयाँ गाडी भित्र्याउने भएको हो।
निशानः
निशानले भने तत्काल कुनै नयाँ मोडलको गाडी भित्र्याउने वा सार्वजनिक गर्ने योजना बनाएको छैन। निशानले हाल भइरहेका मोडल नै भित्र्याउने कम्पनीका वरिष्ठ प्रबन्धक राजकुमार दाहालले बताए। उनका अनुसार अहिले 'म्यागनाइट', 'लिफ', 'किक' मोडलले राम्रो बजार पाएको छ।
'यिनै मोडलको माग राम्रो छ,' उनले भने, 'त्यसैले हालको योजनाअनुसार यिनै गाडी भित्र्याउने छौं। नयाँ मोडल ल्याउने योजना बनेको छैन।'
निशानका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो।
टोयोटाः
नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि हो। कम्पनीका मार्केटिङ प्रबन्धक ऋतेष उपाध्यायका अनुसार हाल टोयोटाका नयाँ मोडलका गाडी भित्र्याउने योजना छैन। बजारमा उपलब्ध मोडल नै भित्रिने छन्।
'अहिले भएका स्टक बिक्रीमै समस्या छ। बैंकिङ कर्जा प्रवाह सहज नहुँदा ग्राहकहरू पनि गाडी आकर्षित देखिँदैनन्,' उनले भने, 'गाडी भित्र्याउने अनुमति पाएर मात्रै हुँदैन। अटो व्यवसाय सुधारका लागि बैंकिङ कर्जा सहजै पाउन आवश्यक छ।'
होन्डाः
नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालि हो। कम्पनीका सेल्स प्रबन्धक सुमित महेश्वरीका अनुसार बजारको मागअनुरूप कम्पनीले गाडी पुर्याउन सकिरहेको छ। तर कर्जा प्रवाहको समस्याका कारण सोचेजस्तो माग छैन।
त्यस्तै अहिले वर्षको अन्त्य भएको र ग्राहकले नयाँ मोडल खोज्ने भएकाले सन् २०२२ का मोडल नभित्र्याउने उनले बताए। त्यसैले हाल उपलब्ध मोडल नै थप भित्र्याउने योजना कम्पनीको छ।
नेपालमा होन्डाको 'अमेज', 'सिटी', 'डब्लुआर-भी' ले राम्रो बजार पाएको छ। हाल अमेजको सुरूआती मूल्य ४० लाख ७० हजार रूपैयाँ, सिटीको ५० लाख ९० हजार रूपैयाँ र डब्लुआर-भीको ४९ लाख २५ हजार रूपैयाँ तोकिएको छ।
ग्रेट वाल मोटर नेपाल (जिडब्लुएम)
जिडब्लुएमले छोटो समयमै बजारमा राम्रो स्थान बनाएको छ। कम्पनीले हाल 'थर्ड जेन हाभल एच- ६', 'हाभल जोलियन', 'पावर' र 'विंगल-५' मोडल बिक्री गर्दैछ। हाल यिनै गाडीको बिक्री र सेवा विस्तारमा कम्पनी केन्द्रित रहने उपाध्यक्ष रूपेश शर्मा भट्टले बताए।
प्रतिबन्ध खुला हुँदा मात्र व्यवसायीको समस्या समाधान नहुने उनी बताउँछन्।
'गाडी आयात हुँदैमा समस्या समाधान हुँदैन। किन्ने ग्राहक नै नभए यो व्यवसाय धरापमा जान्छ,' भट्टले भने, 'त्यसैले समस्याको सही पहिचान भई सम्बन्धित निकायले त्यसको समाधानको बाटो खोज्न जरूरी छ। तब मात्रै अटो व्यवसायीहरूले राहत पाउने छन्।'