पुस १ गतेदेखि चार पांग्रे सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध हटेको छ। केही गाडी वितरक कम्पनीहरू नयाँ मोडलको गाडी भित्र्याउन तयारी अवस्थामा छन् भने केहीले भने हाल बजारमा उपलब्ध मोडलहरूनै आयात गर्ने बताएका छन्।
यस्तोमा किया मोटर्स भने नेपालमा सन् २०२३ को पहिलो त्रैमासमा तीन वटा नयाँ मोडलको गाडी भित्र्याउने तयारीमा छ।
कम्पनीले भारतबाट ७-सिटर क्यारेन्स र नयाँ स्पोर्टेजको भित्र्याउने भएको हो। त्यस्तै कोरियाबाट विद्युतीय निरो इभी भित्र्याउने तयारी गरिरहेको कम्पनीका सहायक महाप्रबन्धक मन्जित कुमार पोखरेलले जानकारी दिए।
उनका अनुसार भारतबाट भित्रने गाडीहरू सन् २०२३ को पहिलो त्रैमासमा सार्वजनिक गरिनेछ भने कोरियाबाट भित्रने गाडी ढिलोमा सन् २०२३ को दोस्रो त्रैमासमा सार्वजनिक गरिनेछ।
यी बाहेक कम्पनीले हाल बजारमा उपलब्ध मोडलहरू पनि भित्र्याउँदैछ। 'हामीसँग भएका गाडीमध्ये लगभग ९० प्रतिशत स्टक सकिसकेको अवस्था छ। त्यसैले पुरानै मोडलका गाडीहरू पनि आयात गर्न प्रतितपत्र (एलसी) जारी गरेका छौं,' उनले भने।
उनका अनुसार हाल बजारमा कियाको गाडी बिक्री नभएको भन्नेबारे भ्रम फैलिएको छ। तर उनीहरूसँग बजारको मागअनुरूप गाडी पुर्याउन सकिरहेका छैनन्। प्रतिबन्ध खुलेसँगै अब भने गाडी आयात हुँदैछ। बजारमा कियाको सोनेट र सेल्टोसको माग उच्च रहेको सहायक महाप्रबन्धक पोखरेल बताउँछन्।
किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज रहेको छ। कम्पनीले वार्षिक दुई हजार वटाभन्दा बढी कियाको विभिन्न मोडल बिक्री गर्दैछ। त्यस्तै औसतमा मासिक दुई सय वटा र विशेष अवसरमा बढी गाडी बिक्री हुने पोखरेलले जानकारी दिए।
उनले भने, 'त्यसैले एक पटक आयात गर्दा ६ सय वटासम्म अर्डर गर्नु नौलो कुरा होइन। हामी प्रत्येक त्रैमासमा गाडी आयात गरिरहेका हुन्छौं। बिक्री पनि सोहीअनुसार हुँदैछ।'
तर हाल बैंकिङ प्रणालीमा तरलता अभावका कारण अटो लगायतका कर्जा सर्वसुलभ रूपमा ग्राहकहले पाउन सकेका छैनन्।
यसले गर्दा बिक्रीमा केही असर भने परेको उनी बताउँछन्।