भारतमा आउँदो जनवरीमा १६ औं अटो एक्स्पो हुँदैछ। अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो अटो एक्स्पो आयोजना गरेको हो।
उक्त अटो एक्स्पो सन् २०२३ को जनवरी १३ मा सुरू हुनेछ भने १८ सम्म जारी रहनेछ। एक्स्पो ग्रेटर नोएडामा आयोजना हुँदैछ।
एसआइएएका अनुसार यस पटकको अटो एक्स्पोमा विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई प्राथमिकतामा राखिनेछ। ३० भन्दा बढी इभी कम्पनीहरूले आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने जनाएको छ।
एक्स्पोमा टर्क मोटर्स, हिरो इको टेक, म्याटर मोटर्स, ओकिनावा अटोटेक लगायत दुई पांग्रे एवम् तीन पांग्रे सवारी निर्माता कम्पनीहरूको उपस्थिति हुनेछ। त्यस्तै टाटा मोटर्स, हुन्डाई मोटर इन्डिया र एमजी मोटरले भारु १५ लाखभन्दा कम मूल्यको गाडी सार्वजनिक गर्ने अपेक्षा छ।
मारुती सुजुकीले ५-डोर जिम्मी एसयुभी, बनेलो क्रस र एउटा विद्युतीय गाडी सार्वजनिक गर्ने अनुमान छ। त्यस्तै टाटा मोटर्सले हाइड्रोजना पावर पेसेन्जर भेहिकल सार्वजनिक गर्ने अनुमान छ। एक्स्पोमा किया इन्डिया, बिवाईडी र लेक्ससको पनि सहभागिता हुनेछ।
विभिन्न सवारी साधन निर्माता कम्पनीहरूसँगै स्टार्ट-अप र प्राविधिक फर्महरू पनि आफ्नो उत्पादनसँगै एक्स्पोमा सहभागी हुने बताइएको छ।
एक्स्पोमा मर्सिडिज-बेन्ज, औडी, बिएमडब्लु, स्कोडा, जिप, होन्डा, सिट्रोन, भोल्भो, निशान लगायत लोकप्रिय कम्पनीको भने उपस्थिति नहुने बताइएको छ। त्यस्तै दुई पांग्रेमा हिरो मोटोकर्प, केटिएम, टिभिएस, बजाज, रोयल इन्फिल्डको पनि सहभागिता हुने छैन।