भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ विद्युतीय गाडी उत्पादन गर्ने भएको छ। कम्पनीले पन्चको विद्युतीय संस्करण पन्च इभीको उत्पादन गर्दै सार्वजनिक गर्ने भएको हो।
विभिन्न भारतीय सञ्चार माध्यमहरूका अनुसार टाटाले सन् २०२३ को जनवरीमा हुन लागेको ‘अटो एक्स्पो २०२३’ मा पन्च इभी प्रदर्शनीमा राख्नेछ। त्यस्तै पन्च इभीको उत्पादन भने सन् २०२३ को जुनबाट सुरू हुने बताइएको छ।
टाटा मोटर्स आफ्नो विद्युतीय सेग्मेन्टको लागि लोकप्रिय छ। कम्पनीले पछिल्लो समय टियागो इभी सार्वजनिक गरेको थियो। यसभन्दा अघि सार्वजनिक नेक्सन इभीले पनि हालसम्म राम्रो बजार पाइरहेको छ। यी विद्युतीय संस्करणजस्तै पन्च इभीले पनि सकारात्मक बजार पाउनेमा कम्पनी आशावादी छ।
हालसम्म कम्पनीले पन्च इभीको विशेषताहरूबारे खुलासा गरेको छैन। तर यो ३०० किलोमिटर र ३५० किलोमिटर रेन्ज दिने दुई वटा ब्याट्रीमा उपलब्ध हुने अनुमान छ। गाडीमा सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, डुअल फ्रन्ट एयरब्याग, इबिडीसहितको एबिएस लगायत विशेषता हुने अनुमान छ। पन्च इभी कम्पनीको पछिल्लो प्रविधि अल्फा प्लेटफर्ममा आधारित हुने अपेक्षा छ।
हाल भारतीय बजारमा इन्जिनयुक्त पन्चको बजार मूल्य भारु ६ लाखदेखि ९ लाख ५४ हजार पर्छ। विद्युतीय पन्चको भने बजार मूल्य १२ लाख भारु पर्ने अनुमान छ।