नेपाली बजारमा प्रिमियम सेग्मेन्टका गाडी उपलब्ध गराउने विभिन्न कम्पनीमध्ये एक हो सुबारू। नेपालको लागि सुबारूको आधिकारिक वितरक विजय मोटर्स प्रा.लि रहेको छ। कम्पनीले सन् २००४ देखि सुबारूको बिक्री गर्दैछ।
जापानिज अटोमोबाइल ब्रान्ड सुबारूले नेपाली बजारमा प्रवेश गरेदेखि स्थिर बजार पाएको कम्पनीका सेल्स मार्केटिङ प्रमुख शैलाज बहादुर सिंक बताउँछन्। उनका अनुसार हाल नेपाली बजारमा सुबारूको तीन मोडलको गाडी उपलब्ध छन्- फरेस्टर, आउटब्याक र एक्सभी।
सुबारूको फरेस्टरको हालको बजार मूल्य एक करोड ५० लाख रूपैयाँ तोकिएको छ भने आउटब्याकको बजार मूल्य एक करोड ६० लाख रूपैयाँ तोकिएको छ। तीन मोडलमध्ये सबैभन्दा सस्तो एक्सभीको बजार मूल्य अहिले एक करोड २८ लाख छ।
औसत नेपालीको लागि यी गाडीको मूल्य बढी लाग्न सक्छ। 'हामीले प्रिमियम सेगमेन्टको गाडी बिक्री गर्छौं। त्यसैले हाम्रो लक्षित ग्राहकहरू सीमित छन्,' सेल्स मार्केटिङ प्रमुख शैलाजले भने।
तीन मोडलमध्ये 'आउटब्याक' सबैभन्दा महँगो गाडी हो। कम्पनी भने ग्राहकहरूले गाडीमा गरेको लगानी अनुसार उनीहरूले सन्तुष्टी पाउनेमा सकारात्मक छ। यसको विशेषताहरूका कारण ग्राहकहरू पनि आकर्षित हुने कम्पनीको भनाइ छ।
२,४९८ सिसी क्षमताको आउटब्याक विशेष लामो यात्राहरूको लागि उपयुक्त गाडी हो। यसमा सुबारूको बक्स इन्जिन छ। गाडीमा डिरेक्ट फ्युल इन्जेक्सनको इन्धन प्रवित्ति छ भने ६३ लिटरको इन्धन ट्यांक छ।
गाडीमा जति इन्जिनले ५,६०० आरपिएममा १८५ एचपी पावर र ३,४०० देखि ४,६०० आरपिएममा २४५ एनएम टर्क जेनेरेट गर्छ।
गाडीको टप स्पीड नै २०६ किलोमिटर प्रति घण्टाको छ। शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको स्पीडमा पुग्न सुबारू आउटब्याकलाई जम्मा ९.६ सेकेन्ड लाग्छ। कम्पनीका अनुसार उच्चा ग्राउन्ड क्लेरेन्स भएका कारण पनि यो गाडी नेपाली बजार र हरेक किसिमको भू-भागको लागि उपयुक्त छ। गाडीमा ९.५ इन्च अर्थात् २४१.३ एमएम ग्राउन्ड क्लेरेन्स छ।
५ सिटर सुबारू आउटब्याकको कुल लम्बाई ४,८७० एमएम, चौढाई १,८७५ एमएम र उचाई १,६७५ एमएम छ। गाडीको ह्विलबेस २,७४५ एमएम छ भने कुल तौल १,६४२ केजी छ। गाडीमा १८ इच्चको टायर दिइएको छ भने गाडीमा डिस्क ब्रेक पाउन सकिन्छ।
सुबारू आउटब्याकको बाहिरी र भित्री आवरण निकै प्रिमियम छ। गाडीमा पुरै एलइडी हेडल्याम्प दिइएको छ। गाडी चलाउनु अघि चालकको शारीरिक बनावटको आधारमा सिटको उचाई, एयर कन्डिसनलगायत विशेषता आफै समायोजन गर्छ। यसको लागि अगावै सेटिङ्सहरू भने मिलाउनुपर्ने हुन्छ।
यसमा ११.६ इच्नको टचस्क्रिन छ। कम्पनीले गाडीमा सुरक्षाको लागि ८ वटा एयरब्याग दिएको छ। त्यस्तै चालकले विभिन्न ड्राइभ मोडमा गाडी चलाउन सक्छन्।
नेपाली बजारमा आउटब्रेक निलो, ग्रे, सेतो, सिल्भर, कालो, हरियो, रातो र ब्रोन्ज रङमा उपलब्ध छन्।
हाल कम्पनीसँग सीमित स्टक भएको समेत कम्पनीले जनाएको छ। तर छिट्टै गाडीको आयात गर्ने तयारीमा कम्पनी छ। आउटब्याकसँगै कम्पनीले फरेस्टर र एक्सभी पनि भित्र्याउँदैछ।