नाडा सदस्यहरू र उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। बिहीबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा छलफल गरेको हो।
उक्त भेटघाट तथा छलफलमा अर्थ मन्त्री पौडेलले आफूले अटोमोबाइल क्षेत्रलाई नजिकबाट नियालेको भन्दै अटोमोबाइल व्यवसायीहरूले हाल भोगिरहेको समस्याहरूको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए।
सोही क्रममा उनले अटोमोबाइल क्षेत्रका समस्याहरूको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोबाइल व्यवसायीहरूबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरे।
भेटघाट तथा छलफलमा अध्यक्ष थापाले पछिल्ला समयमा आएका विभिन्न नीतिहरूका कारण पहिल्यैदेखि प्रताडित भएको अटोमोबाइल ब्यवसायलाई झनै कठिन अवस्थामा पुर्याएको बताए। यसै कारण व्यवसायीहरू आफ्नो व्यवसायबाट नै पलायन भइरहेकाले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गर्न आग्रह गरे।
उनले बढ्दो ब्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरू आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न, अटो लोन-हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउन अर्थात ७५ प्रतिशत नै कायम गर्न, बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेस लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालू रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत कायम गर्न पनि आग्रह गरे।
साथै, नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुदाहरू हालको अवस्थामा व्यावहारिक रूपमा लागु गर्न कठिन हुने देखिएको हुनाले निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरे।
भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति थियो।