नाडा र भन्सार विभागका महानिर्देशकबीच बुधबार छलफल भएको छ। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटेर नेपालको भन्सार नाकाहरूमा जम्मा भएका सवारी साधनहरूको भन्सार जाँचपासका सम्बन्धमा छलफल गरेको हो।
राजनबाबु श्रेष्ठका अनुसार सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरूका कारण अटोमोबाइल व्यवसायीहरू धरासायी हुने अवस्थामा पुगेको छ। उनका अनुसार बैंक लगायतका वित्तीय निकायहरूले लगाएको उच्च ब्याजदर, अटो लोन हायर-पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पुर्याइएको, बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्याइएको आदी विभिन्न कारणले बजारमा सवारी साधनहरू बिक्री हुन सकेको छैन।
यसले गर्दा सवारी साधन पैठारीकर्ताहरूले भन्सारमा आइपुगेका सवारी साधनहरूको भन्सार जाँचपास गर्न नसकेको उनले बताए। छलफलमा श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरूको बिक्री समेत दुई तिहाइले घटेको जानकारी दिए।
कार्यक्रममा नाडाका पूर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँचपासका लागि विभागले तोकेको सबै कागजातहरू पेश गर्दा पनि भन्सार जाँच पासमा कठिन भएको गुनासो गरे। सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेकाले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर बिलिङलाई अनिवार्य गर्नुपर्ने बताए।
यसै क्रममा 'टू ह्विलर समिति'का सभापति अभिक ज्योतिले उच्च ब्याजदरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमि आएको जानकारी दिए। त्यसैगरी राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी नभएका सवारी साधन पैठारीकर्ताहरूले सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिविलिटी भएका कम्पनीहरूसँग मिलेर आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरे।
उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दवाव परिरहेको बताउँदै विभागले व्यवसायीहरूको मागलाई यथासम्भव सम्बोधन गर्ने बताए। सोही क्रममा महानिर्देशक बुढाले नेपालका भन्सार नाकाहरूमा आइसकेका सवारी साधनहरूको यथासम्भव भन्सार जाँचपासका लागि आग्रह गर्दे नेपालका भन्सार नाकाहरूमा कुन-कुन ब्राण्डका के-कति सवारी साधनहरू छन् त्यसको तथ्यांक उपलब्ध गराउन भने।
भन्सार विभागका उपमहानिर्देशक डिलाराम पन्थी, यज्ञराज कोइराला, सूचना अधिकारी पुण्य विक्रम खड्का, निर्देशक रामप्रसाद रेग्मी, रामप्रसाद मैनाली र कृष्ण बस्नेत समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य बरदान बस्नेत समेतको उपस्थिति थियो ।