महिन्द्रा एन्ड महिन्द्राले भारतीय बजारमा नयाँ थार एसयुभी सार्वजनिक गरेको छ। कम्पनीले भारु ९ लाख ९९ हजारमा महिन्द्राको नयाँ २ डब्लुडी थार सार्वजनिक गरेको हो।
२ डब्लुडी मोडल ४ डब्लुडीभन्दा सस्तो हुन्छ। गाडीमा भएको चार वटा पांग्रामध्ये इन्जिनले दुई वटा पांग्रामा पावर दिन्छ। बाँकी दुई वटा पांग्रामा इन्जिनले सिधैं पावर नदिएपनि यो घुमेर गाडी चल्न सहायता गर्छ।
कम्पनीले सार्वजनिक गरेको नयाँ २ डब्लुडी थार तीन विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ। हाल बजारमा थार रातो, ग्रे, कालो र एक्वा मरिन गरी विभिन्न रंगमा खरिद गर्न सकिन्छ। भारतीय अटोमोबाइल कम्पनी कारवालेका अनुसार नयाँ थार यीबाहेक ब्रोन्ज र सेतो गरी थप दुई रंग विकल्पमा उपलब्ध हुनेछ।
महिन्द्रा थार २डब्लुडी संस्करणमा २.० लिटर एमस्टलियन टर्बो-पेट्रोल इन्जिन जडित छ। जसले १५० बिएचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ। साथै यो नयाँ १.५ लिटर डिजेल इन्जिनमा समेत उपलब्ध हुनेछ। जसले ११७ बिएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ।
गाडीको भित्री भाग महिन्द्रा थारको ४ डब्लुडी संस्कणको जस्तै छ। यसको भित्री भाग खुला र चालक एवम् यात्रुहरूको लागि आरामदायी छ।
महिन्द्राको नयाँ २ डब्लुडी थार एएक्स एएक्स डिजेल म्यानुअल ट्रान्समिसनको बजार मूल्य भारु ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने एलएक्स डिजेल म्यानुअल ट्रान्समिसनको बजार मूल्य भारु १० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी एलएक्स पेट्रोल अटोमेटिक ट्रान्समिसन भेरियन्टको भारतीय बजार मूल्य १३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।