दाङ, घोराहीको ट्राफिक चोकमा मंगलबार दिउँसो फरक दृश्य देखियो। केही युवाहरू विभिन्न सन्देश लेखिएका कागज छातीमा टाँसेर उभिएका थिए।
उनीहरू केही बोलेका थिएनन्। उनीहरूले भन्न चाहेका कुरा तिनै कागजमा लेखिएका थिए।
'ओइ सरकार, कति पटक म्याद थपेपछि बन्छ घोराही–तुलसीपुर सडक?'
'हटाउन फोर-लेनको एम्बुस!'
'भन कति चाहिन्छ घुस?'
'धुवाँधूलो कहिलेसम्म, हामी चुप बसेसम्म!'
'न एयरपोर्ट न सडक, धेरै भयो नेताजीको चटक।'
उनीहरू सबै अलपत्र घोराही–तुलसीपुर सडक खण्डको काम छिटो सक्न दबाव दिन जुटेकाहरू थिए।
वर्षौंदेखि २८ किलोमिटर लामो घोराही–तुलसीपुर सडक विस्तारको काम अलपत्र छ। यात्रा गर्न सर्वसाधारणले निकै सास्ती खेपिरहेका छन्। सडकको अवस्थाकै कारण दुर्घटना बढेको छ। यही सडकमा भएका दुर्घटनामा परी २४ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। अरू कयौं अंगभंग भएका छन्।
त्यसैले युवाहरूले मंगलबार अस्तव्यस्त चारलेन सडकमा उत्रेर विरोध गरेका हुन्।
अस्तव्यस्त सडकको विरोधमा उनीहरूले सडकमै उभिएर कविता वाचन गरे।
सचेत नागरिक दाङको ब्यानरमा यो विरोध कार्यक्रमको व्यवस्थापन भने इञ्जिनियर विशाल अधिकारीले गरेका थिए। मंसिर ४ गतेको निर्वाचनमा उनी दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थिए।
कार्यक्रमको सुरूमा उनले चारलेन सडकको वर्तमान अवस्था र समाधानका लागि गरिएको पहलकदमीबारे बताए। सडक डिभिजनदेखि विभागीय मन्त्रीलाई घोराही–तुलसीपुर सडकको नाजुक अवस्थाबारे भेटेर छलफल गरेको कुरा गरे। त्यसपछि यो सडकको ठेक्का रद्द गर्न किन आवश्यक छ र तत्काल नयाँ ठेक्कामा किन जानु पर्छ भन्नेबारे आफ्नो धारणा राखे।
उनले आफ्ना कुरा राखेपछि विभिन्न श्रष्टाहरूले सडकको अवस्थाबारे आ–आफ्ना रचनाहरू वाचन गर्न थाले। लोकराज पराजुली, कमलमणि देवकोटा, श्रवण नेपाली, सुदन पौडेल, लक्ष्मी बुढाथोकी, कुवेर गन्धर्व र विक्रम गन्धर्वले आफ्ना रचनामार्फत चारलेन सडकको नाजुक अवस्था र त्यसबाट सर्वसाधारण यात्रुले खेप्नुपरेको सास्ती, बढेका दुर्घटनाले निम्त्याएका कहाली लाग्दा घटनाहरूको वर्णन गरे।
उनीहरूले मौसमअनुसार सडक धूलाम्मे वा हिलाम्मे हुँदाका अवस्था शब्दमा उतारेका थिए।
कविता वाचन कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी भुसाल, नेपाल अपांग संघ दाङका कोषाध्यक्ष वसन्तराज भट्ट लगायतले तत्काल सडक निर्माणमा ध्यान नदिए आम सचेत नागरिक विरोधमा उत्रिन बाध्य हुने चेतावनी दिए।
रास्वपाका नेता अधिकारीले चर्चा बटुल्न नभई सडकको दुर्दशा देखेर टुलुटुलु बसेर हेर्न नसकेकाले दबाव सिर्जना गर्न आवश्यक रहेको बताए।
तपाईंकै पार्टी पनि सरकारमा छ नि? किन भन्नुहुन्न भन्ने प्रश्नमा उनले जवाफ दिए, 'दंगालीले भोग्नुपरेको कठिनाइका बारेमा राज्यको ध्यानाकर्षण गराउन खोजिएको हो। यसमा सबैको साथ आवश्यक छ। दाङ जत्तिको ठूलो सहर र उपत्यकामा न गतिलो एयरपोर्ट छ न सडक राम्रो। नसुन्ने सरकार र निकम्मा नेताकै कारण यो दुर्भाग्य हामीले भोग्नुपरेको हो। हामी जनताले कहिलेसम्म हैरानी भोग्नुपर्ने हो?'
चुप लागेर बसुन्जेल अवस्था सुधार नहुने भन्दै उनले राज्यलाई सर्वसाधारण नागरिकले भोग्नुपरेको कठिनाइका बारेमा झकझक्याउन आवश्यक रहेको बताए।
यसअघि पुस २० गते उनीहरूले संघीय सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यो सडकको दुरावस्थाबारे ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा पनि उनीहरूले अबिलम्ब यो सडकको ठेक्का रद्द गरिनुपर्ने र नयाँ ठेक्काको प्रक्रिया सुरू गर्नुपर्ने माग गरेका थिए।
यो सडक खण्ड २०७५ माघ १४ गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७७ वैशाख २९ गते काम पूरा भई सक्नुपर्ने थियो। सडक विस्तारको काम भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फा प्रोजेक्ट प्रालिले लिएको थियो।
यो बीचमा सात वटा ठेकेदार परिवर्तन भइसकेका छन् भने तीन पटक म्याद थप भएको छ। तर सडकको अवस्था जस्ताको तस्तै छ।
आयोजनाको हालसम्मको भौतिक प्रगति ९.८२ प्रतिशत र आर्थिक प्रगति ४.४२ प्रतिशत मात्रै भएको सरोकारवालाहरूले बताएका छन्।
सडक आयोजनाका लागि भारतीय एक्जिम बैंकको डेढ अर्ब सहुलियत ऋण लिएकामा समयमै काम पूरा नहुँदा राज्यलाई करिब ८ करोड व्ययभार थपिएको उनीहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।