चिनियाँ विद्युतीय अटो निर्माता कम्पनी बिवाइडीले भारतीय बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले हाल भारतमा जारी अटो एक्स्पो २०२३ मा बिवाइडीको नयाँ 'सिल' इभी सेडान प्रदर्शनीमा राख्दै कम्पनीले छिट्टै बजारमा गाडी उपलब्ध गराउने बताएको हो।
भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार कम्पनीले सन् २०२३ को चौथो त्रैमासमा नयाँ विद्युतीय सेडान बजारमा उपलब्ध गराउने अपेक्षा छ।
नयाँ सिल सेडान कम्पनीको ई-प्लेटफर्म ३.० मा आधारित छ भने यसको निर्माणमा कम्पनीले पहिलो पटक आफ्नो सिटिबी (सेल टू बडी) प्रविधि प्रयोग गरेको छ। गाडी ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर गरी दुई वटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ।
६१.४ किलोवाट आवर ब्याट्री प्याक जडित गाडीले ५५० किलोमिटर र ८२.५ किलोवाट आवर ब्याट्री प्याक जडित गाडीले ७०० किलोमिटरको रेन्ज दिने बताइएको छ। गाडी जम्मा ३.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्छ।
गाडीको लम्बाई ४,८०० एमएम, चौढाई १,८७५ एमएम र उचाई १,४६० एमएम छ। गाडीको बाहिरी र भित्री डिजाइन आकर्षक छ। यसको भित्रपट्टी १५.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र हेड-अप डिस्प्ले पनि दिइएको छ।
कम्पनीले भारतीय बजारमा नयाँ सिल विद्युतीय सेडान सार्वजनिक गर्ने घोषणा गरेपनि यसको मूल्य तोकेको छैन। तर नयाँ विद्युतीय बिवाइडी सिलको भारतीय बजार मूल्य भारु ७० लाख हुने अनुमान छ।
जारी अटो एक्स्पोमा बिवाइडीले सिलसँगै अट्टो ३ पनि प्रदर्शनमा राखेकोछ। यसको बजार मूल्य भारु ३३ लाख ९९ हजार छ। प्रदर्शनीमा कम्पनीले सीमित संस्करणको अट्टो ३ राखेको छ। यसको बजार मूल्य भने भारु ३४ लाख ४९ हजार तोकिएको छ।