सुजुकी मोटर कर्पोरेसनले नयाँ विद्युतीय एसयुभी सार्वजनिक गरेको छ। कम्पनीले हाल भारतमा जारी अटो एक्स्पो २०२३ मा सुजुकी इभिएक्सको कन्सेप्ट भर्सन सार्वजनिक गरेको हो।
नयाँ इभिएक्स पुरै विद्युतीय कन्स्पेप्टमा तयार पारिएको एसयुभी हो। यसमा ६० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ जसले एक पटकको पूरा चार्जमा ५५० किलोमिटरको रेन्ज दिनेछ।
विभिन्न भारतीय अटो अखबारका अनुसार सुजुकीको नयाँ विद्युतीय इभिएक्स सन् २०२५ सम्म बजारमा उपलब्ध हुने बताइएको छ।
कम्पनीका अनुसार सुजुकी इभिएक्स विश्वको पहिलो ग्लोबल स्ट्राटेजिक इभी हो। र, यो सार्वजनिक गर्न पाउँदा कम्पनीका अध्ययक्ष तोसिहिरो सुजुकीले खुशी व्यक्त गरे।
‘अहिले विश्वको चासो ग्लोबल वार्मिङमा छ। वातावरण प्रदुषण नहुने र वातावरणलाई कुनै पनि तरिकाले हानी नगर्ने खालका उत्पादनहरू भित्र्याउन पाउँदा निकै खुशी छौं,’ उनले एक्स्पोमा भनेका छन्, ‘भविष्यमा ग्राहकहरूको माग अनुसार थप वातावरण मैत्री उत्पादनहरू सार्वजनिक गर्नेछौं।’
सुजुकीले जारी अटो एक्सपोमा इभिएक्सको कन्सेप्ट एसयुभी सहित थप १६ मोडलको गाडी प्रदर्शनीमा राखेको छ।