भारतमा जारी अटो एक्स्पो २०२३ मा टोयोटाले नयाँ ल्यान्ड क्रुजर ३०० सार्वजनिक गरेको छ। कम्पनीले यो गाडीको मूल्य भारु दुई करोड १७ लाख तोकेको छ।
टोयोटा ल्यान्ड क्रुजर ३०० ले बजारमा उपलब्ध लेक्सस एलएक्स र रेन्ज रोभरसँग प्रतिस्पर्धा गर्नेछ।
भारतीय अखबारहरूका अनुसार टोयोटा ल्यान्ड क्रुजर ३०० डिजल इन्जिन भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीले सन् २०२२ को अगस्टदेखि नै यो गाडीको लागि बुकिङ खुला गरेको थियो। कम्पनीका अनुसार पहिलो लटको एसयुभी सबै बिक्री समेत भइसकेको छ। अब भने कम्पनीले थप विशेषताहरूसँगै नयाँ ल्यान्ड क्रुजर ३०० सार्वजनिक गरेको हो।
नयाँ ल्यान्ड क्रुजर ३०० मा पहिलेको भन्दा भिन्न र फराकिलो ग्रिल दिइएको छ भने यसको पांग्रा पनि सानदार देखिन्छ।
टोयोटाले अटो एक्स्पोमा टोयोटा ल्यान्ड क्रुजर ३०० सँगै नयाँ इनोभा हाइक्रस एमपिभी पनि प्रदर्शनीमा राखेको छ। नयाँ हाइक्रसमा १०.१ इन्चको स्क्रिन दिइएको छ भने मल्टी-लेअर ह्यासबोर्ड पनि दिइएको छ।