नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढ्दो छ। यस्तैमा टेलजी नेपालले हालै नयाँ मोडलको स्कुटर भित्र्याएको छ। नेपालको लागि टेलजीको आधिकारिक वितरक योमा मा ई-मोटर्स प्रा.लि हो।
कम्पनीले यही जनवरीदेखि थप विशेषताहरू सहितको ‘लायन’ मोडलको विद्युतीय स्कुटरको बिक्री-वितरण सुरू गरेको हो। कम्पनीले यो नयाँ मोडल स्कुटरको बजार मूल्य तीन लाख ३० हजार रुपैयाँ तोकेको छ।
नयाँ लायनमा ३००० साइकलसहितको लिथियम आयन फोस्फेट ब्याट्री प्याक दिइएको छ। कम्पनीले यसभन्दा अघि बिक्री गरेको लायन मोडलमा एलइडी एसिड ब्याट्री प्याक थियो। नयाँ मोडलको स्कुटरमा जडित ब्याट्रीमा कम्पनीले दुई वर्षको वारेन्टी दिने बताएको छ। यसमा ४५ एएच ७२ भोल्टको ब्याट्री जडित छ।
यस्तो छ टेलजी लायनको विशेषताहरूः
- मोटर पावरः २५०० वाट
- अधिकतम पावरः ४००० वाट
- टप स्पिडः ६० किलोमिटर प्रति घण्टा
- रेन्ज/माइलेजः एक पटकको पूरा चार्जमा १६० किलोमिटर
- ब्याट्री क्षमताः ४५एएच/७२भी
- बुट स्पेसः २५ लिटर
- ग्राउन्ड क्लेरेन्सः १६५ एमएम
- वारेन्टी/ग्यारेन्टीः मोटरमा एक वर्ष ग्यारेन्टी, दुई वर्ष निःशुल्क ब्याट्री मर्मत
- अन्य विशेषताः एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, किलेस स्टार्ट, सेन्सर प्रविधि,एन्टी थेफ्ट प्रविधि, सिडिएस डिस्क ब्रेक, एलसिडी डिस्प्ले, स्टिरियो स्पिकर
सिडिएस डिस्क ब्रेकका कारण स्कुटर सुरक्षित मानिन्छ। यसको अर्थ सेन्ट्रल ब्रेकिङ प्रविधि हो। अर्थात् चालकले अगाडिको ब्रेक लगाउँदा पछाडिको टायरमा पनि केही हदको ब्रेक लाग्छ। त्यस्तै पछाडिको ब्रेक लगाउँदा अगाडिको टायरमा पनि ब्रेक लाग्छ।
त्यस्तै पहिलेको तुलनामा नयाँ लायनमा बढी बुट स्पेस (डिकी) पाउन सकिन्छ। अपग्रेड गरिएको मोडलमा २५ लिटरको क्षमता दिइएको छ भने पहिलेको मोडलमा जम्मा १६ लिटरको डिकी क्षमता थियो। त्यस्तै पहिलेको लायनमा जम्मा १३० एमएम ग्राउन्ड क्लेरेन्स थियो भने अहिने नयाँ मोडलमा १६५ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ।
टेलजीले नेपाली बजारमा नयाँ लायन मोडलसँगै टाइगर पनि बिक्री गर्दैछ।