नेपालमा बनेका सवारी साधन दर्ता गर्न कार्यविधि बन्दैछ। यातायात व्यवस्था विभागबाट उक्त कार्यविधि बनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश हुने तयारीमा रहेको हो।
हालसम्म नेपालमा बनेका सवारी साधन दर्ताबारे कुनै पनि कानुन छैन। जसले गर्दा नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा जान सकेका छैनन्।
नेपालमा पहिलो पटक यात्री मोटरसाइकल एक्सपिरियन्स सेन्टरले विद्युतीय मोटरसाइकल तयार पारेको थियो। अहिले यात्रीको बजार विस्तार हुँदैछ। यस्तैमा बहान नामक नयाँ नेपाली बाइक उत्पादन कम्पनी पनि थपिएको छ। तर यी कम्पनीहरू दर्ता प्रक्रियामा जान सकेका छैनन्।
नेपाली कम्पनीको मोटरसाइकल खरिदकर्ताले नम्बर प्लेट बिनानै बाइक चलाउन बाध्य छन्। यसले गर्दा उनीहरूलाई विभिन्न समय ट्राफिक प्रहरीहरूबाट सास्ती पाउनुपरेको गुनासो छ। यस्ता गुनासा पर्न थालेपछि सरकारले नयाँ कार्यविधि ल्याउन लागेको हो।
‘कार्यविधिको ड्राफ्ट अन्तिम चरणमा छ। दुई साताभित्र सार्वजनिक गर्ने तयारीमा छौं,’ विभागका प्राविधिक निर्देशक रामचन्द्र ढकालले सेतोपाटीसँग भने, ‘नयाँ कार्यविधिमा नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियासँगै देशभित्र सवारी साधन किनबेच गर्ने लगायत पार्टपुर्जासम्बन्धी सम्पूर्ण व्यवस्था समावेश गरेका छौं।’
हाल ऐनमा आयातित साधनको दर्ता लगायत विषयमा मात्र स्पष्ट लेखिएको छ। ती सवारी साधनहरूको आयात, दर्ता, बिक्री लगायत प्रक्रियाबारे यातायात तथा सवारी ऐन-२०४९ मा उल्लेख छन्। यसमा नेपालमा बनेका सवारी साधनसम्बन्धी कुनै व्यवस्था प्रष्ट छैन।
सवारी दर्ता गर्न ऐनले सवारी आयातको प्रज्ञापनपत्र (एलसी) अनिवार्य गरेको छ। सोही व्यवस्थालाई अनिवार्य गरेको हुनाले नेपालमा उत्पादित सवारी दर्ताको लागि समस्या सिर्जना भएको विभागका प्राविधिक निर्देशक ढकाल बताउँछन्। नयाँ कार्यविधिले भने यी विषयलाई समेट्नेछन्।