नेपाली बजारमा महिन्द्रा यतिबेला नयाँ एसयुभी सार्वजनिक गर्ने तयारीमा छ। नेपालको लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रा.लि रहेको छ। कम्पनीका अनुसार नेपाली बजारमा महिन्द्रा एक्सयुभी-७०० छिट्टै सार्वजनिक हुनेछ।
भारतमा उत्पादित महिन्द्रा एक्सयुभी-७०० ले ग्लोबल एनक्याप क्र्यास परिक्षणमा वयस्क व्यक्ति सुरक्षाको हकमा पाँच स्टार रेटिङ पाएको छ। गत वर्ष परिक्षण हुँदा यसले वयस्क सुरक्षाको हकमा १७ मा १६.०३ र बालबालिकाको सुरक्षा हकमा ४९ मा ४१.६६ अंक पाएको हो।
यही एसयुभी अब छिट्टै नेपालमा उपलब्ध हुनेछ। महिन्द्रा एक्सयुभी-७०० डिजेल र पेट्रोल इन्जिन भेरियन्टमा उपलब्ध छ। एसयुभीको डिजेल इन्जिन २,१९८ सिसीको छ भने पेट्रोल इन्जिन १,९९९ सिसीको छ। यी दुवै भेरियन्ट अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन्। तर नेपालमा भने यो टर्बोचार्ज्ड २.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ। जसले २०० पिएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले हालसम्म यसको नेपाली बजार मूल्य तोकेको छैन।
एक्सयुभी-७०० सात सिटर एसयुभी हो जसको लम्बाई ४,६९५ एमएम, उचाईँ १,८९० एमएम र ह्विलबेस २,७५० एमएम छ। गाडीमा ६० लिटरको इन्धन ट्याक छ। प्रतिलिटर पेट्रोलले १७ देखि २० किलोमिटरको रेन्ज दिने बताइएको छ।
एक्सयुभी-७०० को अगाडी र पछाडि दुवै टायरमा डिस्क ब्रेक दिइएको छ। गाडीमा पावर स्टेरिङ दिइएको छ भने यसमा एयर कन्डिसनर, एड्जस्टेबल स्टेरिङ, फ्युल इन्डिकेटर, रियर पार्किङ सेन्सर, किलेस इन्ट्री, युएसबी चार्जर, ४ ड्राइभ मोड लगायत विशेषता पनि पाउन सकिन्छ। यसमा स्मार्ट डोर ह्यान्डलिङ दिइएको छ।
सुरक्षाको लागि गाडीमा ७ वटा एयर ब्याग, एन्टी लक ब्रेकिङ प्रविधि, सेन्ट्रल लकिङ प्रविधि, रिअर सिट बेल्ट (पछाडिका यात्रुहरूको लागि सिट बेल्ट), टायर प्रेसर मोनिटर, क्र्यास सेन्सर, अटोमेटिक हेडल्याम्प, ३६० भ्यू क्यामेरा लगायत विशेषताहरू दिइएको छ।
गाडीको बाहिरी भागमा एड्जस्टेबल हेडलाइट, फग लाइट, रेन सेन्सर वाइपर, सन रुफ, रुफ रेल, एलइडी डिआरएल र हेडलाइट छ। यसमा १८ इन्चको अलोय टायर दिइएको छ भने टायर ट्युबलेस हुन्।
एक्सयुभी-७०० मा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले हुनेछ। गाडीमा ब्लुटुथ कनेक्टिभिटी, वायरलेस फोन चार्जिङ, १२ वटा स्पिकर, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटी जस्ता सुविधा पनि पाउन सकिन्छ।
नेपाली बजारमा महिन्द्राको यो एक्सयुभी-७०० प्रतिक्षित गाडी हो। यतिबेला अग्नी ग्रुपले नेपाली बजारमा महिन्द्राको एक्सयुभी ५००, महिन्द्रा पिकअप, महिन्द्रा स्कोर्पियो, बोलेरो क्याम्पर र बोलेरो म्याक्स ट्रक प्लस मोडलको गाडी बिक्री गर्दैछ। अब भने उक्त सूचीमा छिट्टै नयाँ महिन्द्रा एक्सयुभी-७०० थपिँदैछ।
नेपाली बजारमा महिन्द्राको एक्सयुभी-७०० सेतो, कालो, सिल्भर, रातो र निलो गरी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ।