अटो निर्माण कम्पनी मारुती सुजुकीले भारतीय बजारमा प्रवेश भएका १७ हजारभन्दा बढी गाडीलाई कम्पनीमा फिर्ता बोलाएको छ।
एयरब्यागमा समस्या देखिएपछि कम्पनीले विभिन्न सोरुममा भएका र बिक्री भइसकेका १७ हजार तीन सय ६२ वटा गाडी कम्पनीलाई फिर्ता गर्न भनेको हो।
भारतीय अखबारहरूका अनुसार सुजुकीको अल्टो के-१०, एस-प्रेस्को, ईइको, ब्रेजा, बलेनो र ग्रान्ड भिटरा गरी ६ वटा मोडलका गाडीहरूको एयरब्याग कन्ट्रोलरमा समस्या देखिएको छ। सन् २०२२ डिसेम्बर ८ देखि सन् २०२३ को जनवरी १२ मा तयार भएका गाडीको एयरब्यागमा यस्तो समस्या देखिएको हो।
'हामीले १७ हजार तीन सय ६२ गाडीलाई कम्पनीमा फिर्ता बोलाएका छौं। ती गाडीहरूको एयरब्याग कन्ट्रोलरमा समस्या आउने देखेपछि फिर्ता बोलाएका हौं। हामी आवश्यकता अनुसार जाँच गरी सामग्री परिवर्तन गर्नेछौं,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ।
कम्पनीका अनुसार उक्त लटमा तयार भएका गाडी खरिदकर्ताहरूलाई कम्पनीले गाडी जाँचको लागि फिर्ता बोलाउँदै सूचना जारी गर्दैछ। कम्पनीले आवश्यकता अनुसार निःशुल्क जाँच गरी एयरब्याग कन्ट्रोलर समेत परिवर्तन गरिदिने जनाएको छ।