नेपाली बजारमा निशान 'म्यागनाइट' एसयुभीको प्रदर्शनी राम्रो छ। नेपालको लागि निशानको आधिकारिक वितरक पायोनियोर मोटोकर्प हो। कम्पनीले करिब दुई वर्ष अघि यो गाडी सार्वजनिक गरेको हो।
बजार प्रवेश गर्दा यो गाडीको सुरुआती मूल्य २९ लाख ४९ हजार थियो। करिब ६ महिनादेखि भने उक्त गाडीको सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
हाल नेपाली बजारमा निशान म्यागनाइट एक्सई, एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी विभिन्न भेरियन्ट उपलब्ध छन्।
म्यागनाइट १.० लिटर बि४डी पेट्रोल म्यानुअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। यसको पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क उत्सर्जन गर्छ।
यसको डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क उत्सर्जन गर्छ।
सुरक्षाका लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायत फिचर समावेस गरिएको छ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ। इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७.० इन्च टिएफटी डिस्प्ले रहेको कम्पनीले बताएको छ।
यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेबल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्युरिफायर लगायत फिचर्स पनि छन्।
यो गाडीमा २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ। यसले गर्दा उबडखाबड बाटोमा पनि गाडीले भुइँ छुने सम्भावना कम हुन्छ। नेपाली बाटोमा यो गाडी सुहाउँदो हुने कम्पनीको भनाइ छ।
त्यस्तै गाडीमा ३३६ लिटर बुट स्पेस छ। यसमा ग्राहकले धेरै सामान अटाउन सक्छन्।