हुन्डाईले भारतीय बजारमा सेडान औराको फेसलिफ्ट सार्वजनिक गरेको छ। कम्पनीले सुरुआती मूल्य भारु ६ लाख २९ हजारमा हुन्डाईको औरा फेसलिफ्टको बेस पेट्रोल ई भेरियन्ट सार्वजनिक गरेको हो। गाडीको सिएनजी एसएक्स भेरियन्टको मूल्य भने कम्पनीले भारु ८ लाख ८७ हजार तोकिएको छ।
भारतीय अखबार अटोकार इन्डियाका अनुसार कम्पनीले उक्त गाडीको लागि यही महिनाको सुरुआतदेखि बुकिङ खुला गरेको थियो।
कम्पनीले औरा फेसलिफ्टको बाहिरी र भित्रीसँगै थप विशेषताहरू पनि अपग्रेड गरेको छ। गाडीको अघिल्लो भाग स्पोर्टी डिजाइनमा पाउन सकिन्छ भने दुई भागमा विभाजित ग्रिल दिइएको छ। यसमा एल-आकारको एलइडी डिआरएल दिइएको छ। औरामा फग ल्याम्प दिइएको थियो भने नयाँ औरा फेसलिफ्टमा भने फग लाइटको कमी छ।
गाडीमा १५ इन्चको अलोय ह्विल दिइएको छ। यसको टेल लाइट पनि एलइडी छ। कम्पनीले गाडीको भित्री भागमा भने खासै बढी परिवर्तन गरेको छैन। यसको इन्स्ट्रुमेन्ट क्लस्टरमा भने केही परिमार्जन गरिएको छ।
औरा फेसलिफ्टमा १.२ लिटल पेट्रोल इन्जिन दिइएको छ। जसले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ। यो ५ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध छ। त्यस्तै गाडी सिएनजी किटमा १.२ लिटर पेट्रोल इन्जिन विकल्पमा पनि उपलब्ध हुनेछ। उक्त इन्जिनले भने ६९ एचपी पावर र ९५ एनएम टर्क जेनेरेट गर्छ। यो ५ स्पीड म्यानुअल गियरबक्स विकल्पमा उपलब्ध हुनेछ।
गाडीमा ८ इन्चको टचस्क्रिन दिइएको छ भने यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो पनि समर्थन गर्छ। गाडीमा एसी भेन्ट, एड्जस्टेबल हेडरेस्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर जस्ता विशेषताहरू पनि दिइएको छ।
कम्पनीले हुन्डाई औरा फेसलिफ्ट ई, एस, एसएक्स, एसएक्स (ओ) र एसएक्स प्लस गरी पाँच विभिन्न भेरियन्टमा उपलब्ध गराउने बताएको छ।
सुरक्षाको लागि नयाँ औरा फेसलिफ्टमा चार वटा एयरब्याग र इबिडीसहितको एबिएस प्रवित्ति पाउन सकिन्छ। यसको माथिल्लो भेरियन्टमा भने ६ स्पीड एयरब्याग, आइसोफिक्स एन्कोरेज, हिल होल्ड असिस्ट र अटोमेटिक हेडल्याम्प जस्ता विशेषता पाउन सकिन्छ।
अटोकारका अनुसार भारतीय बजारमा हुन्डाई औरा फेसलिफ्टले टाटा टिगोर, होन्डा अमेज र मारुती सुजकी डिजाइरसँग प्रतिस्पर्धा गर्नेछ।