१५० सिसीभन्दा माथिका दुई पांग्रे सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध पुस महिनादेखि हटाइएको छ।
यससँगै पुस महिनामा मात्रै १२५ सिसी माथिका एक हजार एक सय २१ वटा दुई पांग्रे आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १२५ सिसीदेखि २०० सिसीसम्मका ६ हजार एक सय ४ वटा मोटरसाइकल तथा स्कुटर भित्रिएको थियो। यो संख्या पुस महिनामा ६ हजार ९ सय ५ पुग्यो। यसर्थ पुसमा मात्रै १२५ सिसीदेखि २०० सिसीसम्मका आठ सय एक दुई पांग्रे भित्रिएको हो।
त्यस्तै साउनदेखि मंसिर महिनामा २५० सिसीदेखि ४०० सिसीसम्म जम्मा १६० वटा बाइक तथा स्कुटर आयात भएको थियो। यो संख्या पुस महिनामा ४८० पुगेको छ।
यसर्थ पुसमा २५० देखि ४०० सिसीसम्मका तीन सय २० वटा दुई पांग्रे सवारी साधन आयात भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्ममा १२५ सिसीदेखि ४०० सिसीसम्मका ७ हजार ४ सय ४५ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको छ। यसबाट सरकारलाई दुई अर्ब २९ करोड ३८ लाख ६० हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ।
तथ्यांक अनुसार पुस महिनामा ५० सिसीदेखि १२५ सिसीसम्मका भने कुल दुई सय ८ वटा दुई पांग्रे सवारी साधन आयात भएको छ। यसबाट सरकारलाई १९ करोड ८५ लाख एक हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ।
यो महिना २०० सिसीदेखि २५० सिसीसम्मका कुनै पनि दुई पांग्रे सवारी साधन आयात भएको छैन।