नाडा सदस्य र उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। नाडाका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ मन्त्री पौडेलसँग भेट गरेको हो। उक्त भेटमा अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरूका विषयमा छलफल भएको नाडाले जनाएको छ।
अहिले सरकारले सवारी साधनहरूलाई विलाशिताको वस्तुमा वर्गीकरण गरेको छ। नाडा अध्यक्ष थापाले यसकारण सरकारले सोही अनुरूप नीतिहरूको निर्माण गरिरहेको गुनासो गरे। जसले अटोमोबाइल क्षेत्र धरासायी बनाउँदैछ।
यस सन्दर्भमा आउँदो बजेटसम्बन्धी छलफल गर्दा भने नाडालाई समेत सहभागी गराउनेबारे उपप्रधानमन्त्री पौडेलले आश्वासन दिए।
अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको, विगत ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेकोमा आभार व्यक्त गरे। यी निर्णयहरूले अटोमोबाइल लगायतका व्यवसायहरूमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने अध्यक्ष थापाको भनाइ छ।
साथै उनले नेपाल राष्ट्र बैंकका केही नीतिहरूका कारण अटोमोबाइल व्यवसायीहरू व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था देखिएको विषय अघि सारे। उनका अनुसार अहिले नेपालका भन्सार नाकाहरूमा ६ महिनादेखि करिब तीन हजार सवारी साधनहरूको भन्सार जाँचपास हुन सकेको छैन। त्यसैले यसको समाधानका लागि उनले अर्थ मन्त्री पौडेलसँग आग्रह गरे।
छलफलमा अध्यक्ष थापाले अटो लोन हायर-पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत कायम गरिनु पर्ने, सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर-पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनुपर्ने र चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरूको संशोधनका लागि समेत अनुरोध गरे।
कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डिएन इकोनोमिक जोन स्थापना गरिनुपर्ने बताए। त्यस्तै नेपालमा सवारी साधन एसेम्बलिङ उद्योग जस्तै, अटोमोबाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकाले यस क्षेत्रमा लगानी आकर्षित गर्न पनि सुझाव दिए।
यस्ता उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरूलाई सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे।
महासचिव उप्रेतीले काठमाडौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे। छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरूका सम्बन्धमा सरकार गम्भिर रहेको र ती मागहरूको सम्बन्धमा पहल समेत भइरहेको जानकारी दिए।
उक्त भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य-समिति सदस्यद्वय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति थियो।