कुलेश्वर क्षेत्रमा पार्किङको समस्या समाधान गरिदिन माग राख्दै कुलेश्वर अटो व्यवसाय संघले काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन गरेको छ। संघका अनुसार कुलेश्वर क्षेत्रमा बढीजसो अटो व्यवसाय सञ्चालनमा छन्। तर पार्किङको उचित व्यवस्थापन नहुँदा सेवाग्राहीहरूलाई समस्या परेको छ।
‘कुलेश्वरमा थुप्रै अटो व्यवसाय सञ्चालनमा छन्। तर यो क्षेत्रमा उचित पार्किङको व्यवस्थापन छैन। सामग्री खरिद गर्न आउने ग्राहकहरूले सडक छेउमा दुई मिनेट पनि पार्किङ गर्न नपाउँने अवस्था छ,’ संघका सदस्य श्री बुढाथोकीले भने, ‘यसले गर्दा हाम्रो व्यवसाय धरापमा परिरहेको छ। यसको उचित व्यवस्थापन होस् भन्ने हाम्रो माग हो।’
उनका अनुसार पहिलेको तुलनामा अहिले ट्राफिक प्रहरीहरूले कडाई गरेको र सडक छेउमा पार्किङ गर्नेबित्तिकै चिट काट्ने गरेका छन्। यसले निजी सवारी साधनमा सामग्री खरिद गर्न पुग्ने ग्राहकहरूले पार्किङको निकै समस्या झेलिरहेका छन्।
अटो व्यवसायसँगै कुलेश्वर क्षेत्रमा सञ्चालित खाद्यान्नलगायत अन्य व्यवसायीहरूलाई पनि उचित पार्किङ नहुँदा समस्या परेको छ। यसकारण बुधबार बिहानदेखि कालिमाटीदेखि कुलेश्वर गणेशस्थानसमका सबै सटर बन्द गरिएको संघले जानकारी दिएको छ।
‘बिहान केहीबेर खाद्यन्य लगायत किराना पसल खुलेका थिए। अहिले तिनले पनि बन्द गरेका छन्,’ श्री बुढाथोकीले भने।
यसै विषयमा संघले नाडासँग पनि सहयोगको अपेक्षा राखेको छ। नाडा अध्यक्ष ध्रुब थापाका अनुसार नाडाले यसमा सक्दो सहयोग गर्ने भएको छ। उनले त्यहाँको बाटो फराकिलो हुनाले एकतर्फी मात्र भएपनि पार्किको सुविधा दिनुपर्ने सुझाव दिएका छन्।
‘ट्राफिक व्यवस्थापनको लागि पार्किङ व्यवस्थापन हुन आव्शयक छ। तर कुलेश्वर क्षेत्रमा यसको उचित व्यवस्थापन देखिँदैन। त्यसैले यसबारे महानगर र ट्राफिक डिभिजन कार्यलयको ध्यान जान आवश्यक छ,’ उनले भने।
बुधबार बिहानै संघ र महानगरबीच भएको छलफलमा सकारात्मक रहेको बुझिएको छ। यद्यपि हालसम्म व्यवसायीहरूले पसल खोलिसकेका छैनन्।
बुधबार बिहान कुलेश्वर अटो व्यवसाय संघ संघको संयोजकत्वमा महानगरपालिका अगाडि आन्दोलन गरेको थियो। उनीहरूले महानगरपालिका अगाडि पुगेर नाराबाजी गरेका थिए।
‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गर’ लगायतका नारासहित आन्दोलन गरेका हुन्।