नेपालको लागि मारुती सुजुकी चार पांग्रे गाडी बिक्रेता सीजी मोटोकर्पले बजारको लागि नयाँ गाडी सार्वजनिक गर्दैछ। कम्पनीले केही दिन मै सुजुकी ग्रान्ड भिटारा सार्वजनिक गर्ने भएको हो। हाल उक्त गाडीको लागि कम्पनीले बुकिङ समेत खुला गरिसकेको छ।
ग्रान्ड भिटारा खरिद गर्न इच्छुक ग्राहकहरूले अहिले ५० हजार रुपैयाँ तिरेर गाडी बुकिङ गर्न सक्छन्। कम्पनीका अनुसार बुकिङ गरेको तीन महिनाभित्र ग्राहकहरूलाई गाडी डेलिभर हुनेछ।
‘फागुन दोस्रो सातासम्म हाम्रो पहिलो लटको गाडी भित्रदैछ। त्यसको तीन महिनाभित्र ग्राहकहरूलाई गाडी डेलिभर गर्छौं,’ कम्पनीका एक अधिकारीले भने।
ग्रान्ड भिटारालाई अटो, स्पोर्ट, स्नो र लक गरी चार मोडमा चलाउन सकिन्छ। गाडीमा चालकले ड्राइभ मोड सेलेक्टर पाउन सक्छन्।
गाडीमा प्यानारोमिक सनरुफ पनि छ। यसमा १७.७८ सिएमको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २२.८६ सिएमको टचस्क्रिन डिस्प्ले पाउन सक्छन्। गाडीमा एनड्रोइड अटो र एप्पल कार प्ले पनि कनेक्ट गर्न सकिन्छ।
ग्राहक र यात्रु सुविधाको लागि गाडीमा अटो एसी, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, वायरलेस चार्जिङ डक लगायत विशेषताहरू छन्।
सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ प्रविधि, ३६० भ्यू क्यामेरा, हिल डिसेन्ट कन्ट्रोल, हिल होल्ड असिस्ट, इबिडीसहितको एबिएस, आइएसओफिक्स चाइल्ड सिट, १७ इन्चको अलोय ह्विल जस्ता फिचर छन्।
नेपाली बजारमा ग्रान्ड भिटारा १,४६२ सिसी डिस्प्लेसमेन्टसहितको स्मार्ट हाइब्रिड र १,४९० सिसी डिस्प्लेसमेन्ट सहितको इन्टेलेक्ट इलेक्ट्रिक हाइब्रिड गरी दुई भेरियन्ट सार्वजनिक हुने अनुमान छ।
१,४६२ सिसी डिस्प्लेसमेन्ट सहितको गाडीले ६ हजार आरपिएममा १०३.०६ पिएस पावर र ४,४०० आरपिएममा १३६.८ एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै १,४९० सिसी डिस्प्लेसमेन्ट भएको गाडीले ५,५०० आरपिएममा ९२.४५ पिएम पावर र ४,४०० देखि ४,८०० आरपिएममा १२२ एनएम टर्क जेनेरेट गर्छ। यसमा ८५ किलोवाटको लिथियम आयन ब्याट्री प्याक समेत हुनेछ।
कम्पनीले हालसम्म गाडीको बजार मूल्य सार्वजनिक गरेको छैन। तर बजारमा यो निलो, सेतो, सिल्भर, ग्रे, खैरो, रातो, सेतो र कालो मिसिएको, रातो र कालो मिसिएको, र सिल्भर र कालो मिसिएको रंग विकल्पमा उपलब्ध हुनेछ।