उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्वपूर्ण छलफल भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले बिस्तारमा जवाफ दिए।
त्यसक्रममा राजदूत सोङ्गले टोखा छहरे सडकको ‘इआइए’ प्रतिबेदन स्वीकृत गर्ने बित्तिकै चीनले थप कदम अगाडि बढाउने, ‘फिजिबिलिटी’ अध्ययन सकिने बित्तिकै केरुङ-काठमाडौं रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने तथा नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए।
चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलंकी-चावहिल-चक्रपथ, नारायणगढ-बुटवल सडक र मुग्लिन-पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको प्रति मन्त्री श्रेष्ठले चासो राखे। त्यसबाट जनताले सास्ती भोग्नुपरेको उनको भनाई थियो।
कलंकी-चावहिल खण्डको केही स्थानमा अझै साइट क्लिएर नभएको र नारायणगढ-बुटवल तथा मुग्लिन-पोखरा सडक निर्माण ढिलाईबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदुत सोङ्गको भनाई छ। मन्त्री श्रेष्ठले संखुवासभा-किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङ्गको ध्यानाकर्षण गराए।