यातायात मजदुर संघहरूले बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेसँग भेटर आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि यातायात ठप्प पार्नेसहितका कडा आन्दोलन गर्ने बताएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार महानिर्देशक पाण्डेसँग भेटेको थियो।
भेटमा संघ नेतृत्वले यातायात व्यवस्थापन क्षेत्र सञ्चालनलाई सहज पार्न र यस क्षेत्रमा आवश्यक सुधार गर्न माग राखे।
'यतिबेला यातायात श्रमिक आतंकित छन्,' नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने, 'समयमै समस्याको समाधान नभए यातायात सेवा बन्द गर्नुभन्दा अन्य उपाय देखिँदैन।'
उनका अनुसार यतिबेला ऐन विपरित करिब पाँच सय लाइसेन्स निलम्बन गरिएको छ। यसले चालकहरू रोजगारी बिहिन बनाएको छ। त्यस्तै, ट्राफिक व्यवस्थापन नहुँदा सार्वजनिक सवारी साधनले समस्या भोगिरहनु परेको छ।
'यातायात सेवा बन्द गर्ने चाहना हाम्रो होइन। तर राज्यका संरचनाहरू मजदुर दमनमा उत्रिएपछि अन्तिम विकल्पका रूपमा काम रोकेर आन्दोलनमा जाने निर्णय गर्नु परेको हो,' अध्यक्ष राईले भने।
अहिले सडकमा ट्राफिक प्रहरीहरूको मनोमानी चलेको, यातायात व्यवस्थापन अस्तव्यस्त रहेको, सवारी साधनको आयु तोकेर २० वर्ष पुगेका सवारी साधनलाई हटाउने निर्णय हालको लागि उपयुक्त नरहेको भन्दै संघहरूले विभागका महानिर्देषकको ध्यानाकर्षण गराएका थिए।
त्यस्तै ऐन र नियम विपरित सामान्य कसुरमा पनि ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गर्नु समस्याजनक रहेको, सडक सुरक्षा परिषद् र यातायात क्षेत्र सुधारका लागि आयोगको आवश्यकता भएको लगायतका १० बुँदे माग संघहरूले राख्दै आएका छन्।
मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई समेत यी मागहरू सहितको ज्ञापन पत्र पेश गरेको थियो।
उनीहरूले १५ दिने अल्टिमेटम दिँदै केही समयदेखि विभिन्न मन्त्रालयमा माग राख्दै आएका छन्। बुधबार पनि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका थिए।
बिहीबार संघ र विभागबीचको भेटमा महानिर्देशक पाण्डेले आफ्नो तर्फबाट सक्ने कार्य अघि बढाउनेमा संघहरूलाई आश्वासन दिएका छन्। उनले संघको मागहरू जायज रहेको बताउँदै समयमै सम्बन्धित निकायहरूसँग सम्वन्वय गर्ने समेत बताए।