नेपाली बजारमा रेनोको नयाँ गाडी सार्वजनिक हुने भएको छ। रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘काइगर २०२३’ सार्वजनिक गर्ने भएको हो।
कम्पनी यसको लागि बुकिङ पनि खुला गरिसकेको छ। इच्छुक ग्राहकले २५ हजार रुपैयाँ जम्मा गरेर बुकिङ गर्न सक्नेछन्।
नेपालमा काइगर एसयुभीले राम्रो बजार पाएको छ। हाल बजारमा उपलब्ध मोडलमा बिएस-६ कम्प्लायन्टको इन्जिन जडित छ। नयाँ काइगरमा बिएस-६ २.० कम्प्लायन्ट हुने बताइएको छ।
हाल उपलब्ध रेनो काइगरले सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएको छ। कम्पनीले नयाँ काइगर २०२३ मा भने थप परिमार्जित विशेषताहरू सार्वजनिक गर्ने अपेक्षा छ। यसमा टायर प्रेसर मनिटरिङ प्रविधिदेखि ट्र्याक्सन कन्ट्रोल प्रविधि पाउने बताइएको छ।
रेनो काइगरमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन छ जसले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यो ९९९ सिसीको गाडी हो। कम्पनीले नयाँ काइगर २०२३ को इन्जिनबारे भने खुलाएको छैन।
काइगरको लम्बाई ३,९९१ एमएम, चौढाई १,७५० एमएम र उचाई १,६०० एमएम छ। यसको ह्विलबेस २,५०० एमएम छ। गाडीको ग्राउन्ड क्लेरेन्स २०५ एमएम छ।
कम्पनीले काइगर २०२३ मोडलको लागि बुकिङ खुलाएको भएपनि हालसम्म पुरै विशेषता र मूल्य भने सार्वजनिक गरेको छैन। तर थप फिचर र सुरक्षा विशेषतासहित सार्वजनिक हुने काइगर २०२३ मोडल पहिलेको तुलनामा परिष्कृत हुने बताइएको छ।