नेपाली बजारमा नयाँ कम्पनीको विद्युतीय गाडी (इभी) थपिँदैछ। जेमिनी इन्कर्पोरेट प्रालिले बजारमा चिनियाँ ब्रान्ड 'रेसिन्स'काे इभी सार्वजनिक गर्दैछ। कम्पनीले सम्भवतः आउँदो सातादेखि यो गाडी बजारको लागि उपलब्ध गराउने बताएको छ।
कम्पनीका अनुसार यतिबेला रेसिन्स इभीको नेपाली सडकमा परिक्षण हुँदैछ। कम्पनीले केही समय अघि नै पहिलो लटमा १० वटा गाडी चीनबाट भित्र्याएको हो।
२३० एमएम ग्राउन्ड क्लेरेन्स भएको रेसिन्स इभी सिटी कार हो। अर्थात् यो विशेष शहरी क्षेत्रको लागि निकै उपयुक्त छ। यो गाडी तुलनात्मक रूपमा सानो छ। यसको लम्बाई जम्मा ३,४८० एमएम, चौढाई १,५७० एमएम र उचाई १,५५० एमएम छ।
रेसिन्स इभीलाई घरमै चार्ज गर्न सकिन्छ। यसमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक छ भने १५ किलोवाट क्षमताको मोटर जडित छ। कम्पनीले ब्याट्रीमा पाँच वर्षको वारेन्टी दिने बताएको छ।
यो कारको टप स्पीड १०० किलोमिटर प्रति घण्टाको रहेको छ। कारमा १४ इन्चको टायर दिइएको छ।
रेसिन्स इभीमा जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज हुने कम्पनीको भनाइ छ। कारलाई घरमा भएकै सामान्य सकेटबाट चार्ज गर्न सकिन्छ। हालसम्मको परीक्षण अनुसार यसले एक पटकको पूरा चार्जमा ३०० किलोमिटरको रेन्ज दिने बताइएको छ।
यो कारको माथिल्लो भागमा सोलार प्यानल पनि दिइएको छ। जसले चार्जिङ ब्याकअपको रूपमा काम गर्छ। अर्थात् यो गाडी घाममा गुड्दा वा पर्किङ गर्दा सोलार प्यानलको मद्दतमा ३० प्रतिशतसम्मले ब्याट्री चार्ज हुन्छ।
नेपाली सडकको लागि उपयुक्त नयाँ रेसिन्स इभीको सुरुआती मूल्य २५ लाख रुपैयाँ तोकिएको छ।
कम्पनीले करिब तीन महिना अघिदेखि नै बुकिङ खुला गरेको थियो। कम्पनीले इन्ट्रडक्टरी मूल्य भन्दै पहिलो १० ग्राहकलाई गाडी खरिदमा एक लाख रुपैयाँ छुट दिने बताएको छ।