हुन्डाईले हालै नेपाली बजारको लागि नयाँ भेन्यू २०२३ सार्वजनिक गरेको छ। नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल हो।
अल-न्यू भेन्यू २०२३ को बाहिरी आवरणदेखि आन्तरिकतर्फका विशेषताहरू पनि परिमार्जन गरिएको छ। पहिलेको भेन्यूको तुलनामा यो गाडी हेर्दै आकर्षक र प्रदर्शनीमा पनि राम्रो भएको कम्पनीको भनाइ छ।
नेपाली बजारमा हुन्डाईको नयाँ भेन्यू १.२ कापा पेट्रोल इन्जिन विकल्पमा सार्वजनिक भएको हो। जसले ८३ पिएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ।
नयाँ भेन्यूको अगाडि भएका ग्रिल पहिलेको भन्दा सानदार देखिन्छन्। यसमा एलइडी डे टाइम रनिङ लाइट छ भने एलइडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ। गाडीमा कर्निरिङ लाइट पनि छ। जसले गर्दा रातिको समयमा गाडी चलाउन सहज बनाउँछ।
गाडीको माथिल्लो भागमा रुफ-रेल र सार्क-फिन एन्टिना दिइएको छ। जसले गाडीलाई स्पोर्टी देखाउँछ। गाडीमा विद्युतीय सन-रुफ पनि दिइएको छ।
यसमा १५ इन्चको डायमन्ड कट अलोय ह्विल पाउन सकिन्छ। यसको ऐनामा पुडल ल्याम्प दिइएको छ। यसको ऐनाहरू अटो फोल्डेबल छन्। सेगमेन्टमै नयाँ फिचर यो गाडीमा कनेक्टिङ एलइडी टेललाइट पाउन सकिन्छ।
नयाँ भेन्यूमा प्रोक्सिमिटी सेन्सर फिचर दिइएको छ। यसो हुँदा तपाईंले गाडीको ढोका खोल्न वा इन्जिन स्टार्ट गर्न साँचोको प्रयोग गरिराख्नु पर्दैन। तपाईंको खल्ती वा तपाईंले बोकिरहनु भएको झोलामा साँचो भएपनि ढोका खोल्न वा बन्द गर्न सकिन्छ।
गाडीमा १९५ एमएम ग्राउन्ड क्लेरेन्स पाउन सकिन्छ। जुन नेपाली भू-भागको लागि उपयुक्त मान्न सकिन्छ।
गाडीको भित्री भागमा चालक र यात्रुहरूको सहजताका लागि विशेष फिचरहरू समावेश गरिएको छ। चालकले आफ्नोआवश्यकता अनुसार सिट र स्टेरिङ दुवै एड्जस्ट गर्न सक्छन्।
गाडीमा ८ इन्चको टचसक्रिन इन्फोटेनमेन्ट प्रविधि र पुरै डिजिटल क्लस्टर पाउन सकिन्छ। यसमा चालक र यात्रु दुवैको लागि अटोमेटिक एसी दिइएको छ। यसमा टाइप-सी चार्जर पोर्ट पनि छ। त्यसैगरी वायरलेस चार्जिङ विशेषता पनि पाउन सकिन्छ।
गाडीमा ३५० लिटरको डिकी पाउन सकिन्छ। त्यस्तै गाडीमा ४५ लिटरको इन्धन ट्यांक दिइएको छ। गाडीले प्रतिलिटर ३५ किलोमिटरको रेन्ज दिन्छ।
सुरक्षाको लागि गाडीमा दुई वटा एयरब्याग, एन्टी-लक ब्रेकिङ प्रविधि, विद्युतीय स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल-होल्ड प्रविधि, टायर प्रेसर मोनिटरिङ प्रविधि, रिभर्स क्यामेरा, रिभर्स सेन्सर, डिफगरलगायत विशेषताहरू छन्।
कम्पनी नयाँ भेन्यू २०२३ ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध छन्। ई भेरियन्टको हालको बजार मूल्य ३९ लाख ९६ हजार रुपैयाँ, एसको मूल्य ४५ लाख ९६ हजार र एसएक्सको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
नेपाली बजारमा नयाँ भेन्यू २०२३ सेतो, ग्रे, रातो, सिल्भर, कालो र निलो गरी ६ रंग विकल्पमा उपलब्ध छन्।