नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त शुल्क घटाएको छ।
प्राधिकरणले सोमबार सुन्दर यातायातलाई पत्राचार गर्दै लिनुपर्ने शुल्कभन्दा अन्यथा पर्न गएको भन्दै नयाँ बिल पठाएको छ।
प्राधिकरणले यसअघि सुन्दर यातायातलाई पठाएको बिलमा प्रति युनिट ८ रुपैयाँ ६० पैसा र प्रति केभिए २२० रुपैयाँको दरमा शुल्क लगाइरहेको थियो।
तर हाल पठाइएको बिलमा त्यसलाई सच्याउँदै प्रति युनिट ५ रुपैयाँ ७५ पैसा र प्रति केभिए २०० रुपैयाँको दरमा शुल्क लगाएर पठाएको छ।
त्यस्तै, सुन्दर यातायातले डिमान्ड शुल्क हटाउन माग गर्दै आएकोमा यसको लागि प्रक्रिया सुरू भएको जानकारी प्राधिकरणले पत्रमा उल्लेख गरेको छ।
बिजुली खपत गरेबापत विभिन्न शीर्षकमा शुल्क बुझाउनु पर्ने हुन्छ।
यसमध्ये डिमान्ड शुल्क पनि एक हो। हाल विद्युत महसुल संकलन नियमावली–२०७८ अनुसार सरकारले चार्जिङ स्टेसनले डिमान्ड शुल्क तिर्ने वा ‘स्वाप’ सुविधा दिएर नतिर्ने दुवै विकल्प खुला राखेर महसुल तोकेको छ।
डिमान्ड शुल्क तिर्नेलाई स्टेसनको प्रतियुनिट इनर्जी चार्ज सस्तो हुन्छ भने नतिर्नेलाई महँगो पर्छ।
नियमावलीमा भनिएको छ, ‘कुनै पनि उपभोक्ताको स्वीकृत लोड २५ केभिए वा सोभन्दा बढी भएमा डिमान्ड मिटर (थ्री फेज स्मार्ट अथवा टि.ओ.डी.मिटर) लगाउनु पर्नेछ।
स्वीकृत लोडभन्दा डिमान्ड मिटरले देखाएको डिमान्ड ५० प्रतिशतभन्दा कम भएमा स्वीकृत लोडको ५० प्रतिशतले हुने रकम उपभोक्ताले डिमान्ड शुल्क बापत बुझाउनु पर्नेछ।’
डिमान्ड मिटर जडान नभएका उपभोक्ताको हकमा पनि नियमावलीमा भनिएको छ–डिमान्ड मिटर जडान नभएका उपभोक्ताको हकमा स्वीकृत लोडको ८० प्रतिशतले हुन आउने रकम डिमान्ड शुल्क स्वरूप कायम गरिनेछ। सो बमोजिम हुन आउने डिमान्ड शुल्क उपभोक्ताले बुझाउनु पर्नेछ।
अर्को विकल्प स्वाप कार्ड सुविधाअन्तर्गत भने उपभोक्तालाई डिमान्ड शुल्क लाग्दैन। तर यसको लागि प्राधिकरणले छुट्टै महशुल दर कायम गरेको छ। जुन तुलनात्मक रूपमा बढी पर्छ। यसको लागि दिनको तीन अलग-अलग समय छुट्याएर शुल्क निर्धारण गरिएको छ।
स्वाप सुविधामा ३३ केभी प्रसारण लाइनअन्तर्गतको वैशाखदेखि मंसिरसम्मको बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ६० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ४० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ४ रुपैयाँ ४५ पैसा लाग्ने व्यवस्था छ।
यही मौसममा ११ केभी प्रसारण लाइनअन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ७० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ६० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ५ रुपैयाँ ५ पैसा लाग्ने व्यवस्था छ।
त्यस्तै, तल्लो भोल्टेज (२३० देखि ४०० भोल्ट) प्रसारण लाइनअन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ९० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ७० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ५ रुपैयाँ ५ पैसा लाग्ने व्यवस्था छ।
स्वाप सुविधामा ३३ केभी प्रसारण लाइनअन्तर्गतको पुस महिनादेखि चैत्रसम्मको साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ६० पैसा लाग्ने व्यवस्था छ।
यही मौसममा ११ केभी प्रसारण लाइनअन्तर्गत साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ६० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ७० पैसा लाग्ने व्यवस्था छ।
त्यस्तै तल्लो भोल्टेज (२३०–४०० भोल्ट) प्रसारण लाइनअन्तर्गत साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ७० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ९० पैसा लाग्ने व्यवस्था छ।
सुन्दर यातायातले भने स्वाप विकल्प अनुसार बढी मूल्य पनि नतिर्ने र डिमान्ड शुल्क नतिरी इनर्जी बिल अनुसार नै प्रति युनिट ५ रुपैयाँ ७५ पैसा दरमा मात्रै तिर्न माग राखेको छ।
सोमबार अतिरिक्त डिमान्ड शुल्क र बिलिङ गरेकोमा आपत्ति जनाउँदै सुन्दर यातायातले सबै चार्जिङ स्टेसन र विद्युतीय बसहरूको सञ्चालन बन्द गरेको थियो। आजदेखि भने सेवा फेरि सुरू गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए।