दाङमा पहिलो पटक 'एयर सस्पेन्सन एसी' बस भित्रिएको छ।
राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले पहिलो पटक बस भित्र्याएको हो।
२०४१ सालमा स्थापना भएको साविक राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले मंगलबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो।
प्रालिका अध्यक्ष सुरेश हमालले यात्रुको सुविधालाई मध्यनजर गर्दै एउटाको ८० लाख बढी मूल्यका चार वटा बस भित्र्याइएको बताए।
‘यात्रुको आरामदायी यात्राको लागि हामी निरन्तर पर्यन्तशील छौं,’ उनले भने, ‘ ब्लु स्काइ, सेभन स्टारपछि हामीले स्लिपर एसी बस भित्र्याएका हौं।’
उनका अनुसार बिहीबारदेखि नै नयाँ बसहरू दाङ–काठमाडौंका लागि छुट्ने छन्।
४० सिटे बसमा ३२ जना बसेर र ८ जना सुतेर यात्रा गर्न मिल्ने प्रालिले जनाएको छ।
सुतेर यात्रा गर्न मिल्ने सिटको भाडा दुई हजार रुपैयाँ र बसेर यात्रा गर्न मिल्ने सिटको भाडा एक हजार आठ सय निर्धारण गरिएको अध्यक्ष हमालले बताए। सुतेर यात्रा गर्न मिल्ने सिटहरू अन्तिममा राखिएका छन्। एउटा क्याबिनमा दुई जना यात्रु सुतेर वा बसेर यात्रा गर्न मिल्ने सुविधा छ।
एकै घर-परिवारका सदस्य, महिला, बालबालिका र अशक्त व्यक्तिहरूले आरामदायीपूर्वक सुतेरै यात्रा गर्न सकून् भन्ने उद्देश्यले नयाँ सुविधायुक्त बसहरू भित्र्याइएको व्यवसायी नारायणप्रसाद न्यौपानेले जानकारी दिए।
भारतको दिल्लीबाट ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको व्यवसायीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले पहिलो लटमा चार वटा सुतेर यात्रा गर्न मिल्ने बस ल्याएको र भविष्यमा पनि यस्तै नयाँ बसहरू थप ल्याउन व्यवसायीलाई आग्रह गरिने बताए।
यो प्रालिका मात्रै दाङ-काठमाडौं दैनिक दिवा र रात्री सेवाका लागि १७ बसहरू सञ्चालन हुँदै आएका छन्।
पहिलो चरणमा काठमाडौंका लागि नयाँ बसहरू संचालन गरिने र बिस्तारै दाङ–सल्यान–रूकुम, रोल्पा, प्यूठान लगायतका स्थानका लागि पनि यस्तै बसहरू सञ्चालनको प्रयास गरिने भट्टले जानकारी दिए। त्रिशिद्धेश्वरी प्रालिले भारतको दिल्लीलगायत मुलुकका विभिन्न ५० बढी जिल्लामा दाङदेखि सेवा दिँदै आएको भट्टले बताए।