यातायात मजदुर संघहरू फागुन ३ गतेदेखि आन्दोलनमा जाने भएका छन्। आफ्नो माग पूरा नभएको भन्दै संघहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनको कार्यक्रम तालिका फागुन १ गते बृहत भेलामार्फत घोषणा हुने भए पनि हालसम्मको निर्णयअनुसार फागुन ३ गतेदेखि यातायात ठप्प हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार एक कार्यक्रम आयोजना गरी संयुक्त आन्दोलन परिचालन घोषणा गरेका हुन्।
कार्यक्रममा आन्दोलन परिचालन कमिटीको घोषणा गर्दै भीमज्वाला राईले आफूहरूलाई आन्दोलनमा जान सरकारले बाध्य पारेको बताए।
ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै संघहरूले संयुक्त रूपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए। उक्त सम्बन्धमा सरोकारवालाहरूले चासो नदेखाएको भन्दै आफूहरू आन्दोलनमा जानुपरेको राईको भनाइ छ।
‘फागुन २ गते अल्टिमेटम सकिँदैछ। हालसम्म पनि नियमक निकायहरूबाट आवश्यक उपचार पाएका छैनौं,’ उनले भने, ‘अब हामी फागुन ३ गतेदेखि देशव्यापी आन्दोलनमा उत्रन्छौं। योभन्दा अन्य विकल्प देखेनौं।’
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी संयोजक रहने गरी तीनवटै संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका सदस्यसहित पदाधिकारीहरू र इकाई कमिटीका अध्यक्षहरू सदस्य रहने गरी एक हजार ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको हो।
त्यसैगरी आन्दोलनलाई सहज बनाउन ४१ सदस्यीय संयुक्त आन्दोलन परिचालन सचिवालय गठन गरिएको राईले जानकारी दिए।
नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले यो आन्दोलन यातायात मजदुरहरूको निर्णायक आन्दोलन हुने बताए।
आन्दोलनको तयारीमा रहेका संगठनहरूलाई माघ २९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफलको लागि भने बोलाएको छ। तर ‘उधारो सहमति’ मा आन्दोलन फिर्ता नलिने संगठनहरूको भनाइ छ।
तत्काल गर्न आवश्यक कामहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ।
तीनवटै मजदुर संगठनहरूले आह्वान गरेको आन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बालकुमारीले ऐक्यबद्धता जनाएको छ।