बालाजु क्षेत्र अहिले तनावग्रस्त बनेको छ।
आन्दोलित यातायात मजदुर प्रहरीको भ्यान जलाएका छन्।
उनीहरूले प्रहरीको दुइटा भ्यान जलाएको प्रहरीले जनाएको छ।
नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयनकुमार श्रेष्ठले अश्रु ग्याँस प्रहार गरेको पनि बताए। आन्दोलनरत यातायात मजदुरहरूले ढुंगामुढा गरेपछि आत्मरक्षामा एक सेल प्रहार गरेको उनले बताए।
‘गाडी जलाएको भन्ने पनि सुनेँ। अहिले हामी प्रतिकार गर्न लागेका छौं,’ उनले भने,‘धेरै जनधनको क्षति हुन नदिन हामीले धेरै बल प्रयोग गरेका छैनौं।’
यस्तै प्रदर्शनकारीले बालाजुमा रहेको लोत्से मलमा पनि तोडफोड गरेका छन्।
सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने समेत घोषणा गरेका छन्।
उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो। तर त्यसक्रममा आफूहरूमाथि हातपात समेत भएको राईले बताए।
‘हाम्रा १० बुँदे मागहरू थिए। त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम थियो। तर कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल,हिमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि हामीले आन्दोलन गर्यौं,’ उनले भने।
सोही कुराबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफल भएको थियो। त्यस छलफलपछि कसरी अगाडि बढ्ने भन्नेबारे घोषणा गर्ने कार्यक्रमको आयोजना भएको थियो।
ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो। ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका थिए।
आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ।