सोमबार अपराह्नदेखि काठमाडौंको बालाजु बसपार्क क्षेत्र अशान्त बनेको छ। यातायात मजदुर र उनीहरूका संगठनहरूले आन्दोलन गर्दा बालाजु क्षेत्र तनावग्रस्त बनेको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात संघले संयुक्त रूपमा गरेको आन्दोलन उग्र बन्न पुगेको हो। आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाइसकेका छन्। ट्राफिक आइल्यान्ड भत्काएका छन्। प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन्। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका छन्।
तीन वटा संगठनका प्रतिनिधिहरूको टोली आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गएको थियो। आफ्ना दसबुँदे मागहरू पूरा गर्नुपर्ने अडान उक्त टोलीले राखेको थियो।
टोलीका अनुसार छलफलका निष्कर्षहरू र फागुन ३ गतेदेखि देशव्यापी रूपमा गरिने आन्दोलनका विषय सार्वजनिक गर्ने भन्दै सोमबार दिउँसो एक बजे मजदुरहरूलाई गोंगबुको नयाँ बसपार्कमा बोलाइएको थियो। मजदुरहरू त्यसैअनुसार नयाँ बसपार्कमा भेला भएका थिए।
'मन्त्रालयमा हिजो के भयो भनेर सार्वजनिक गर्ने कार्यक्रम थियो। १२ बजेदेखि नै साथीहरू भेला भइसक्नुभएको थियो,' नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने।
भेला हुँदै गर्दा ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धकसहित ३० जनाको समूह आएको उनले बताए। उक्त समूह आएर मजदुरहरूमाथि आक्रमण गरेको उनको भनाइ छ।
'ट्याक्सी चालकमाथि हातपात गरेका थिए। कार्यक्रमका लागि ल्याइएका साउन्ड सिस्टमहरू तोडफोड गरे,' राईले भने, 'त्यसको प्रतिरक्षा गर्न हाम्रा साथीहरूले पनि बल प्रयोग गर्नुपर्यो।'
यसरी मजदुरहरूमाथि आक्रमण गरेपछि उनीहरूले थप आन्दोलनको घोषणा गरेका थिए। उनीहरूले बालाजु क्षेत्रमा गाडी तेर्साएर सडक अवरूद्ध गरे। कार्यक्रम पनि सञ्चालन गरे।
त्यसैबीच एक विज्ञप्ति जारी गर्दै मंगलबारदेखि आफ्ना माग पूरा नहुन्जेलसम्म काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरे। काठमाडौं उपत्यका बाहिरको हकमा पछि निर्णय गर्ने पनि बताए।
यता भीड बढ्दै गए पनि बाटो अवरूद्ध हुँदा प्रहरी पुग्न कठिन भइरहेको थियो। प्रहरीले समयमै भीडलाई नियन्त्रण गर्न पनि सकेन। प्रहरी पुगेसँगै भीड उग्र भएर ढुंगामुढा गर्न थालेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
उनीहरूले प्रहरीका भ्यानमाथि पनि तोडफोड गरी जलाए। सुरूमा भीडले ढुंगामुढा र तोडफोड गर्दा पनि प्रहरीले बल प्रयोग नगरेको एसएसपी श्रेष्ठको भनाइ छ। सर्वसाधरणको बाक्लो उपस्थितिले गर्दा प्रहरी पुगे पनि जवाफी बल प्रयोग नगरेको उनले बताए।
'उनीहरू उग्र बने पनि प्रहरीले छेकेर बस्यो। किनभने सर्वसाधारणका सवारीसाधन, पैदलयात्रु, बटुवाहरू थिए। उनीहरूलाई क्षति पुग्छ भनेर प्रहरीले बल प्रयोग गरेन,' उनले भने, 'यसो गरिबस्दा एकतर्फी प्रहार भइरह्यो। ढुंगामुढा हुँदा केही प्रहरी घाइते पनि भए।'
अहिले बटुवाहरू नभएको हुँदा भीडलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गर्न थालेको पनि उनले बताए। बालाजुमा दुई सयभन्दा धेरै प्रहरी खटिएका छन्। सशस्त्र प्रहरीका पनि एसपीको कमान्डमा दुई सय ६५ जनाभन्दा बढी परिचालन गरिएको छ।
प्रहरीले ढुंगामुढा गर्ने, प्रदर्शन गर्नेहरूमाथि लाठी चार्ज, अश्रुग्यास प्रहार गरेको छ। चार जनालाई नियन्त्रणमा पनि लिएको छ। वार्ता भएर गाडी चलाउने निर्णय नै भइसकेर शान्तिपूर्ण कार्यक्रम गर्न लागेका मजदुरहरू एकाएक आन्दोलित बनेको उनले बताए।
'प्रहरीले केही गरेको छैन। तर ढुंगामुढा गर्नेदेखि लखेट्नेसम्म भएको देखिन्छ,' उनले भने।
भीडमा कुनै नेता हुँदैन। भीडमा कुनै एउटाले के गरिदिन्छ, त्यहीअनुसार अघि बढ्छ। यो घटनामा पनि कसैले ढुंगामुढा गर्न थालेपछि उग्र रूप लिँदा दुई जना प्रहरीलाई चोट लागेको छ।
प्रदर्शनकारीहरू भने कोही घाइते भएको खबर नआएको एसएसपी श्रेष्ठको भनाइ छ। घटनाको विस्तृत विवरण पनि नआइसकेको उनले बताए।
यातायात मजदुरहरूले दसबुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो।
आइतबार मजदुरका प्रतिनिधिहरू भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर वार्ता गरेका थिए। उनीहरूले तत्काल सम्बोधन गर्न सकिने विषयहरू राखेका थिए।
यसअघि ट्राफिक नियम उल्लंघन गरे पाँच सय, एक हजार र एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने व्यवस्था थियो। पुस ३ गतेदेखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना नै एक हजार पाँच सय रूपैयाँ हुने नियम ल्यायो। यातायात मजदुरहरूले यसमा असन्तुष्टि जनाए। छलफलपछि यो व्यवस्था स्थगित गर्ने निर्णय भएको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले पनि यसलाई पुरानै व्यवस्थाअनुसार न्यूनतम पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म नै गरेको बताइन्।
'प्रत्यायोजित अधिकार प्रयोग गर्ने क्रममा अधिकतम जरिवानाको कुरामा पुनर्मूल्यांकन भएर ऐनमा जे कुरा उल्लेख भएको छ त्यही गरेका छौं। पहिले जे थियो त्यसैलाई निरन्तरता दिन थालेका हौं,' उनले भनिन्।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१, १६२ लगायत संशोधन र चालकको लाइसेन्स निलम्बन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो। यस विषयमा फागुन ८ गतेभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमको संयोजकत्वमा यातायात क्षेत्र सुधारका विषयमा कार्यदल गठन गरिएको थियो। त्यसअघि शनिबार यसका प्रतिनिधिहरूले पेरिसडाँडामा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पनि भेटेका थिए। भेटेर आफ्ना मागहरू राखेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले यातयात सेवा ठप्प पार्नुपर्ने अवस्था नआउने पनि बताएका थिए।
यातायातका मजदुरहरूले देशको एक मात्र केन्द्रीय बसपार्कलाई पनि सरकारले निजी कम्पनीलाई ठेक्कामा दिएको भन्दै गुनासो गरेका थिए। पार्किङहरू निजी कम्पनीलाई दिँदा मजदुरहरूबाट उनीहरूले चर्को शुल्क असुली गरिरहेको उनीहरूको भनाइ छ।
चालकको लाइसेन्स नवीकरणमा ६० वर्षे उमेरको हदले गर्दा क्षमता भएकाहरू पनि बेरोजगार बन्न बाध्य भएकाले ऐनमा रहेका उक्त व्यवस्था हटाउन माग गरेका थिए। त्यस्तै चक्रपथमा चल्ने सवारीसाधनका लागि पार्किङ नभएकाले व्यवस्था गरिदिन पनि माग गरेका थिए।
तस्बिरहरू: