नाडा प्रतिनिधिहरू र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाबीच भेटवार्ता सम्पन्न भएको छ। बिहीबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक बुढासँग भेटेका हुन्।
भेटमा अध्यक्ष थापाले भन्सार नाकाहरूमा लामो समयदेखि रहेका सवारी साधनहरू छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका छन्। उनले सरकारले सवारी साधनहरूको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरूको खरिद बिक्रीमा कुनै सुधार नहुने बताए। यसै कारण सवारी साधन पैठारीकर्ताहरूले भन्सार नाकाहरूबाट आफ्ना सवारी साधनहरू उठाउन नसकेको बताए।
सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप र भ्यान जस्ता सवारी साधनहरूको बजार वार्षिक १७-१८ हजार रहेकोमा अहिले त्यो घटेर ७-८ हजारमा झरेको बताए। उनले कुल सवारी साधनहरूको बिक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए।
त्यसैगरी छलफलमा नाडाका सह-कोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरूको मूल्यांकनमा पनि समस्या आइरहेकाले पैठारीकर्ताले पेश गरेको बिल मूल्यलाई मान्यता दिन आग्रह गरे। मूल्य सूचीले व्यवसायीहरूलाई समस्या परिरहेकाले यसलाई खारेज गर्नुपर्ने धारणा व्यक्त गरे।
उक्त छलफलको अन्तिममा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरूमा रहेका सवारी तथा ढुवानीका साधनहरूको सम्बन्धमा मन्त्रालयमा छलफल भइसकेको जानकारी दिए। साथै नेपालका कुन-कुन भन्सार नाकाहरूमा के-कस्ता ब्राण्डका कति संख्यामा सवारीका साधनहरू (दुईपांग्रे तथा तीनपांग्रे बाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण विभागमा पठाइदिन अनुरोध गरे।
यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्यांन गोष्ठीको आयोजना गर्न लागेको समेत जानकारी दिए। छलफलमा नाडाका सचिव विक्रम सिंहानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्लको समेत उपस्थिति थियो।