सरकारले चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने कार्ड छाप्न आह्वान गरेको ठेक्का जर्मनी कम्पनीलाई परेको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरी दत्त पनेरुका अनुसार कार्ड छाप्न जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता गरेको हो। उनका अनुसार १२ लाख कार्ड छाप्न कम्पनीले १४ लाख ९८ हजार ८० डलर (करिब १९ करोड ८२ लाख ४८ हजार रुपैयाँ)को ठेक्का पाएको हो।
हाल विभागमा करिब ३ लाख मात्रै स्मार्ट लाइसेन्सको कार्ड बाँकी छ। सूचना अधिकारी पनेरुले उक्त कार्डको भन्डारण बाँकी रहँदै नयाँ स्टकको कार्ड भित्रिने बताए।
विभागको तथ्यांक अनुसार अहिले देशभर आठ लाख मानिस स्मार्ट लाइसेन्सको प्रतिक्षामा छन्। दैनिक ६ हजार वटा नयाँ र नवीकरणको लागि माग परेको हुन्छ। तर नेपालभरको लागि आवश्यक स्मार्ट लाइसेन्सको छपाइ यतिबेला विभागमा रहेको एउटै मात्र मेसिनबाट हुँदैछ।
उक्त मेसिनबाट दैनिक १६ घण्टामा जम्मा चार हजार स्मार्ट लाइसेन्स छापिँदैछ। सो संख्या कम भएका कारण विभागले नयाँ मेसिनको लागि समेत केही महिना अघिनै बोलपत्र आह्वान गरेको थियो।
तर विभागको माग अनुसारको मेसिन दिने कम्पनी भएनन्। अब पुनः यसको लागि समेत बोलपत्र आह्वान गर्ने तयारीमा सरकार छ।
हाल विभगमा प्रयोग भइरहेको मेसिन जस्तै अर्को मेसिन चाहिएमा विभागले कस्टमाइज (आवश्यक विशेषताहरू समावेश गरेर) बनाउन कम्पनीसँग ठेक्का गर्नुपर्ने हुन्छ।