नेपाली बजारमा सुन्रा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। नेपालको लागि सुन्राको आधिकारिक वितरक इटालिया मोटोवर्क प्रालि रहेको छ। कम्पनीका अनुसार बढ्दो विद्युतीय सवारी साधनको मागसँगै नयाँ ब्रान्डको स्कुटर सार्वजनिक गरिएको हो।
कम्पनीले सुन्राको विद्युतीय 'हक' र 'रोबो एस' मोडल सार्वजनिक गरेको हो। यी स्कुटरहरूमा सुन्रा कै मोटर जडित छन्। यी स्कुटरहरू आरामदायी हुनुका साथे चलाउँदा पनि सहज अनुभूति हुने कम्पनीको भनाइ छ।
यी स्कुटरहरूमा पावरफुल विद्युतीय मोटर, टिकाउ ब्याट्री र उन्नत विशेषताहरू पाउन सकिन्छ। स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ प्रविधि दिइएको छ जसले ब्रेकिङ सहज र सुरक्षित बनाउँछ। यसमा एन्टी लक ब्रेकिङ प्रविधि पाउन सकिन्छ भने पुरै एलइडी लाइट दिइएको छ।
रोबो-एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको हुनेछ। यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ। यसमा ७२भी२०एएच (डुअल) ब्याट्री दिइएको छ। उक्त ब्याट्रीमा दुई वर्षको वारेन्टी पाउन सनिक्छ।
यसमा एलइडी लाइटसँगै फोन चार्जिङ, फिंगर प्रिन्ट टच स्टार्ट, कम्बाइन्ड ब्रेक सिस्टम लगायत विशेषताहरू पाउन सकिन्छ।कम्पनीले नेपाली बजारमा रोबो-एसको सुरुआती मूल्य तीन लाख ७९ हजार रुपैयाँ तोकेको छ।
त्यस्तै हक भने कम्पनीको मोपेड सेगमेन्टअन्तर्गत पर्छ। नेपाली बजारमा यो सिंगल र डुअल ब्याट्रीमा उपलब्ध हुने कम्पनीको भनाइ छ। यसको टप स्पीड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ भने एक पटकको पूरा चार्जमा ६५ किलोमिटर देखि १३० किलोमिटरसम्मको रेन्ज दिनेछ। यसमा भएको ब्याट्रीमा पनि दुई वर्षको वारेन्टी दिने बताइएको छ।
डुअल ब्याट्री विकल्पसहितको हकको नेपाली बजार मूल्य तीन लाख १७ हजार रुपैयाँ र सिंगल ब्याट्री विकल्पको मूल्य दुई लाख ३६ हजार रुपैयाँ तोकिएको छ।