नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्।
उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरु आइरहेका बताए। उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए।
‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोशन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउने। लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्तर्गत विद्युतीय सवारी साधनहरु आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतीय सवारी साधन प्रयोग गरिदिनुहोस्’, उनले भने, ‘सबैले विद्युतीय सवारी साधन प्रयोग गरौं।’
त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए। वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनले बताए।
‘यसले दुई वटा काम गर्छ। एउटा, तपाईँ आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ। जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ। र गाडीहरुमा प्रतिकिलोमिटर कस्ट चाहीँ एक रूपैयाँभन्दा कम छ विद्युतीय सवारीमा। जबकी पेट्रोल, डिजेलको १५/२० रूपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन’, उनले भने, ‘रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ। पेट्रोल, डिजेलको गाडीले जुन प्रदुषण आइरहेको छ, काठमाडौं लगायत विभिन्न शहरहरुमा । विद्युतीय सवारी साधन चल्दाखेरी त्यो प्रदुषण पनि हट्छ। वातावरणको हिसावले, स्वास्थ्य सुरक्षाको हिसावले उपर्युक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो। यसले नेपाललाई क्लिन इनर्जी, कार्बन न्यूट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ।
उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताए।