टाटाका गाडीहरूको अवैध रुपमा पार्ट पूर्जाहरु भित्र्याएर कारोबार गर्नेहरुलाई प्रहरी पक्राउ गरेको छ।
विभिन्न नाकाहरूबाट अवैध रुपमा गाडीका नक्कली पार्टपूर्जाहरू भित्र्याइएको सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा अवैध कारोबार गर्नेहरूको खोजी भएको थियो।
यसै क्रममा टाटाका अवैध पार्टसहरूको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्यलाई पक्राउ गरिएको छ।
यसबाहेक पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४ सुनसरीस्थित पूजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८ मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११ मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई पक्राउ गरिएको हो।
उनीहरूलाई सम्बन्धित निकायमा उपस्थित गराइ अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गरेर पठाइएको छ।
नक्कली पार्ट पूर्जाको प्रयोगले गाडीहरू अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन्छ।
यस्तै, राज्यको पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ।
साथै, वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरू पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन्।
नेपाल प्रहरी र प्रशासनले काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरू र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गरेको हो।