नेपाली बजारमा हालै सार्वजनिक एमजीको नयाँ 'जेडएस इभी २०२२' ले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ।
एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले गत महिना मात्रै नयाँ विद्युतीय गाडी 'जेडएस इभी २०२२' सार्वजनिक गरेको हो।
नयाँ एमजी जेडएस इभी २०२२ स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ग्राहकले ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी दुइटा ब्याट्री प्याकको विकल्पहरू पाउन सक्छन्।
कम्पनीले एमजी जेडएस इभी २०२२ को बाहिरी र आन्तरिक आवरण परिवर्तन गरेको छ भने थप विशेषताहरू पनि समावेश गरिएको छ।
गाडीमा पुरै एलइडी लाइट पाउन सकिन्छ। साथै डे टाइम रनिङ लाइट पनि दिइएको छ। पहिलेको मोडलमा ग्रिल थियो भने नयाँ मोडलमा फेसलिफ्ट देख्न सकिन्छ। यसमा ३६० डिग्री क्यामेरा पनि पाउन सकिन्छ।
इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ।
गाडीमा एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी निकै सुरक्षित रहेको कम्पनीको दाबी छ।
नयाँ 'जेडएस इभी २०२२'मा १७४ एचपी पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ। गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको रफ्तारमागुड्न सक्छ।
यो गाडीलाई एसी र डिसी दुवै चार्जरबाट चार्ज गर्न सकिन्छ। २ किलोवाटको एसी चार्जरले चार्ज गर्दा ३० प्रतिशतदेखि १०० प्रतिशत हुन जम्मा ८ देखि १० घण्टा लाग्छ। त्यस्तै डिसी चार्जरबाट चार्ज गर्दा भने जम्मा ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। गाडीले एक पटकको पूरा चार्ज ३२० किलोमिटरसम्मको रेन्ज दिन्छ।
एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पिएम फिल्टर लगायत सुविधाहरू दिइएको छ।
साथै पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार प्रविधि, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन्।
गाडीमा वायरलेस मोबाइल चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट पनि दिइएको छ। गाडीमा ४७० लिटरको बुट स्पेस दिइएको छ। साथै ड्राइभर सिट एडजस्टेबल पाउन सकिन्छ।
कम्पनीले गाडीको सुरुआती बजार मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकेको छ। नेपाली बजारमा एमजीको नयाँ 'जेडएस इभी २०२२' कालो, सेतो, रातो, सिल्भर र निलो गरी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध छन्।