भेस्पा र अप्रिलियाको आधिकारिक डिलरसिप दुगड ग्रुपबाट खोसिएको छ।
अब नेपालमा भेस्पा र अप्रिलिया ब्रान्डको आधिकारिक वितरकको रूपमा भिमसरिया ग्रुप सक्रिय रहनेछ। यसबारे भिमसरिया ग्रुपका निर्देशक पुलकित भिमसरियाले पुष्टि गरेका हुन्।
'भेस्पा र अप्रिलियाको बिक्री-वितरण अब भिमसरियाले गर्ने भएको हो। यससँगै हामी अटोमोबाइल क्षेत्रमा प्रवेश गर्दैछौं,' उनले भने, 'व्यवसाय कसरी विस्तार गर्ने भन्ने विषयमा टोली गठन गरी छलफल हुँदैछ।'
उनका अनुसार वैशाख १ गतेदेखि यस ग्रुपले भेस्पा र अप्रिलिया ब्रान्डका स्कुटरहरूको नियमित बजार बजारिकरण गरी बिक्री-वितरण समेत सुरू गर्नेछ।
भिमसरिया ग्रुपको हाल मोबाइल तथा आइटी डिस्ट्रिब्युसन, सर्भिस एन्ड रिप्येयर, उत्पादन, बैंकिङ एवम् इन्सुरेन्स, ऊर्जालगायत विभिन्न रियल स्टेट क्षेत्रमा लगानी रहेको छ।
दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सले अप्रिलिया र भेस्पा ब्रान्डका स्कुटरहरूको बिक्री एवम् वितरण गर्थ्यो। पछिल्लो समय दुगड ग्रुपबाट एकपछि अर्को गर्दै डिलरसिप खोसिदैँछ।
गत वर्षको चैतमा मात्रै यस ग्रुपबाट रोयल इन्फिल्डको डिलरसिप पनि खोसिएको थियो। एमभी दुगर ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले बिक्री गर्दै आएको रोयल इन्फिल्डको बिक्री यतिबेला त्रिवेणी ग्रुपले गर्दैछ।