नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशसरण महतसँग भेटेको छ। आइतबारको भेट कार्यक्रममा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरूका विषयमा छलफल गरेको छ।
छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरूलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दे सवारी साधनहरूलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे। सोही क्रममा अध्यक्ष थापाले अटो लोन हायर/पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने बताए।
साथै भाडामा चल्ने सवारी साधनहरूमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन उनले अर्थमन्त्रीसँग आग्रह गरे। अध्यक्ष थापाले अहिले अटोमोबाइल स्पेयर पार्टसको चोरी पैठारी पनि निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए।
यी सम्पूर्ण विषयमा मन्त्री महतले ध्यान दिई समुचित समाधानका लागि प्रयास गर्नेमा आश्वासन दिए। उनले आफू निकै अफ्ठ्यारो परिस्थितिमा आएको बताउँदै अटोमोबाइल व्यवसायीहरूको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने समेत बताए। यसबाहेक कुन-कुन विषयहरूमा अटोमोबाइल व्यवसायीहरूलाई समस्या परेको छ, त्यसबारे आउँदो बजेट सुझावमा समावेशगरी पठाइदिन पनि आग्रह गरे।
सोही भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरूले विद्युतीय सवारी साधनहरूको उत्पादन र बिक्रीमा ध्यान दिनका लागि आग्रह गरे। यसबारे नाडा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे।
भेटघाट तथा छलफल कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सह-कोषाध्यक्ष पंकज अग्रवाल, सुदुर-पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति थियो।