सार्वजनिक भएको ७२ घन्टामै तीन लाख ग्राहकले बुकिङ गरेको अमेरिकी कम्पनी टेस्लाको विद्युतीय कार ‘मोडल थ्री’ को उत्पादन सुरू हुने भएको छ।
सन् २०१६ अप्रिलमा पहिलो पटक सार्वजनिक भएको ‘मोडल थ्री’ ले १५ महिनापछि उत्पादनका सबै मापदण्ड पूरा गरेको र शुक्रबारसम्ममा पहिलो कार उत्पादन हुने टेस्लाका सिइओ एलन मस्कले बताएका छन्।
विश्व अटो बजारमा तहल्का मच्चाएको ‘मोडल थ्री’ किन्न ७२ घन्टाभित्र तीन लाख ग्राहकले बुकिङ गरेका थिए। बुकिङ गर्न प्रतिकार एक हजार डलर जम्मा गर्नुपर्ने नियम थियो।
बुकिङ गरेकाले कार डेढ वर्षपछि मात्र पाउने त्यही बेला बताइएको थियो। कम्पनीले जुलाई महिनाको अन्त्यमा 'हस्तान्तरण पार्टी' आयोजना गरी सुरूका ३० ग्राहकलाई कार हस्तानतरण गर्ने भएको छ।
सिइओ मस्कका अनुसार अगस्टसम्म १ सय, सेप्टेम्बरसम्म १५ सय र डिसेम्बरसम्ममा २ हजार कार कार उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।
टेस्ला ‘मोडल थ्री’ को बिक्रीको रफ्तारलाई आश्चर्यजनक भनी टिप्पणी गरिएको थियो। कम्पनीले पछिल्लो समय कति एकाइमा बुकिङ अर्डर पाएको छ भन्ने सार्वजनिक नगरेपनि सिइओ मस्कले प्रत्येक साता यो बढिरहेको बताउँदै आएका छन्।
एक पटकको पूरा चार्जमा २१५ माइल (करिब ३४६ किमी) सम्म चल्ने भएकाले यसलाई विद्युतीय सवारीसाधनको दुनियाँमा कोशेढुंगा मानिएको छ। यसलाई चार्ज गर्न अमेरिका र अन्य देशका राजमार्गमा कम्पनीले चार्जिङ स्टेशनहरु राख्नेछ।
हाल भएका टेस्लाका दुई मोडलका कार मोडल एस र मोडल एक्स निकै महँगा छन्। कर नजोड्दा पनि यिनीहरूको मूल्य १ लाख डलरभन्दा बढी पर्छ। यस हिसाबले कम्पनीले मोडल थ्री भने निकै सस्तोमा उपलब्ध गराएको हो।
मोडल थ्रीको सुरुवाती मूल्य ३५ हजार डलर तोकिएको छ।अहिलेसम्म उत्पादन भएका विद्युतीय कारमध्ये मोडल थ्री सस्तो र उत्कृष्ट मानिएको छ। कर, दर्ता, डेलिभरीलगायत अन्य शुल्क गरेर मूल्य करिब ४८ हजार डलर पुग्ने अनुमान गरिए पनि यो सस्तो नै मानिएको छ।
त्यसलै मोडल थ्रीलाई कम्पनीको भविष्यका रूपमा विश्लेश्षकहरूले लिएका छन्।