जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले १७ वर्षपछि इरानमा कार बेच्ने भएको छ। कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना सबैभन्दा धेरै बिक्री हुने मोडल टिगुवान र पासाट अगस्टदेखि इरानमा निर्यात गर्ने जानकारी दिएको हो।
इरानमा लगाइएको व्यापार नाकाबन्दीका कारण यो विश्व अर्थतन्त्रबाट केही वर्ष अलग्गिएको थियो। तर, सन् २०१५ मा जर्मनी, अमेरिका र अन्य केही देशले उक्त नाकाबन्दी तोड्ने सहमति गरेपछि जर्मनीले इरानमा निर्यात सुरू गरेको थियो।
हाल आएर जर्मनीले इरानमा फक्सवागनका कार पनि निर्यात गर्ने भएको हो। यसले फक्सवागनको विश्व बजारमा भएको थप एक खाली ठाउँ भर्ने फक्सवागन इरान आयोजनाका म्यानेजर एन्डर्स सन्डट् जेनसेनले समाचारमाध्यमलाई बताएका छन्।
इरानमा फक्सवागनको व्यापार निकै फस्टाउने कम्पनीको आशा छ। इरानको जनसंख्या करिब जर्मनीकै जति भएकाले यहाँ दीर्घकालमा वार्षिक ३ लाखभन्दा बढी एकाइ निर्यात हुने आकलन कम्पनीको छ। कम्पनीको यो आकलन सही भएमा इरान फक्सवागनका कारका लागि बेलायतभन्दा ठूलो बजार हुनेछ। फक्सवागनले इरानमा कार बेच्न त्यहाँको स्थानीय अटोमोटिभ फर्म म्यामुट खोद्रोसँग सहकार्य गर्नेछ।
तर, फक्सवागन मात्र इरानमा नाकाबन्दीपछि व्यापार गर्ने यूरोपियन फर्म भने होइन। फ्रान्सको तेल फर्म टोटल (टिओटी)ले इरानसँग गत सोमबार अर्बौं डलरको सम्झौता गरेको हो। नाकाबन्दीपछि यो कम्पनीलाई आफ्नो ग्यासको कारोबार बन्द गर्न लगाइएको थियो।