स्वीडेनको सवारोसाधन निर्माता कम्पनी भोल्भोले अब विद्युतीय सवारीसाधन मात्र उत्पादन गर्ने भएको छ।
बुधबार कम्पनीले सन् २०१९ देखि आफूले इन्टरनल कम्बसन इन्जिन (पेट्रोल-डिजेल) पूर्णरूपमा बन्द गरेर विद्युतीय र हाइब्रिड कार मात्र उत्पादन गर्ने घोषणा गरेको हो।
यो घोषणासँगै सम्पूर्णरुपमा पेट्रोल-डिजेल कारको उत्पादन गरी विद्युतीय-हाइब्रिड मात्र उत्पादन गर्ने ठूला अटोमोबाइल कम्पनीमध्येमा भोल्भो पहिलो बनेको छ।
भोल्भो कार्सका अध्यक्ष एवम् मुख्य कार्यकारी निर्देशकले विश्वमै विद्युतीय गाडीको माग तीव्र गतिमा बढिरहेकाले यो निर्णय गरेको बताएका छन्।
भोल्भोले सन् २०१९ देखि २०२१ सम्म ५ मोडलका विद्युतीय कार बजारमा ल्याउने बताएको छ। तीमध्ये तीन भोल्भो र दुई पोलस्टार मोडलका हुनेछन्।
विश्वमा विद्युतीय कारको लोकप्रियता बढिरहेको छ। धेरै देशले यसको प्रवर्द्धन गर्दै आगामी केही वर्षमा पेट्रोल-डिजेल इन्जिनलाई पूर्णरूपमै प्रतिबन्ध गर्ने घोषणा पनि गरिसकेका छन्।
जर्मन सरकारले सन् २०३० देखि पेट्रोल तथा डिजेलबाट चल्ने इन्जिन आयात, निर्यात तथा बिक्रीमै प्रतिबन्ध लगाएको छ भने नेदरल्याण्ड्सले सन् २०२५ देखि प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेको छ।
त्यस्तै, नर्वेले २०२५ सम्ममा देशमा सबै कार हरित उर्जाबाट चल्ने कार मात्र चलाउने निर्णय गरेको छ। विश्वका अन्य केही देशले पनि पेट्रोल-डिजेल इन्जिन प्रतिबन्ध वा विस्थापन गर्नेबारे योजना बनाइरहेका छन्।
यसै साता अमेरिकी कम्पनी टेस्लाले आफ्नो सबैभन्दा सस्तो विद्युतीय कार 'मोडल थ्री' को उत्पादन सुरू हुने बताएको छ। जेनरल मोटर्सले पनि विद्युतीय 'शेभी बोल्ट' बिक्री गर्दै आएको छ।
भोल्भो र टेस्लाको यो कदमले विश्वका अन्य प्रमुख अटोमोबाइल कम्पनीलाई चुनौति भएको छ।