भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकीले ‘स्विफ्ट’ को हाइब्रिड संस्करण ल्याएको छ।
कम्पनीले यो कार जापानमा सार्वजनिक गरेको हो। भारतीय बजारमा भने हाइब्रिड ‘स्विफ्ट’ कहिले आउँछ भन्नेबारे कुनै जानकारी छैन।
यो कारको विशेषता भनेको यसको मोड परिवर्तन हो। यो कार यदि जाममा परेको वा ढिलो गरी चलिरहेको छ भने यसको हाइब्रिड प्रणालीले कम्बसन इन्जिन स्वतः बन्द गराएर विद्युतीय मोड संचालन गराउँछ।
यसमा १.२ लिटरको पेट्रोल इन्जिन छ जसले ९१ हर्सपावर शक्ति उत्सर्जन गर्छ। ५ स्पीड म्यानुअल गियरबक्स भएको यो कार पूर्णतया हाइब्रिड हो जसलाई विद्युतीय मोडमा लैजान सकिन्छ।
नयाँ हाइब्रिड ‘स्विफ्ट’ एक लिटर इन्धनमा ३२ किलोमिटर चल्ने कम्पनीको दाबी छ।