सार्वजनिक भएको ७२ घन्टामै तीन लाख ग्राहकले बुकिङ गरेको अमेरिकी कम्पनी टेस्लाको विद्युतीय कार ‘मोडल थ्री’ अमेरिकी बजारमा आएको छ।
सन् २०१६ अप्रिलमा पहिलो पटक सार्वजनिक भएको ‘मोडल थ्री’ १६ महिनापछि शुक्रबार कम्पनीका सिइओ एलन मस्कले ग्राहकलाई हस्तान्तरण गरेका हुन्।
‘मोडल थ्री’ को सुरूआती मूल्य ३५ हजार अमेरिकी डलर तोकिएको छ। उपलब्ध भएको भन्दा थप गुणस्तरीय ब्याट्री र सुविधा लिन भने यसमा पैसा थप्नु पर्नेछ।
टेस्ला ‘मोडल थ्री’ प्रतिघण्टा २२५ किलोमिटरसम्मको रफ्तारमा चल्छ। यसको लम्बाइ ४६९४ र चौडाइ १८४९ मिमि छ। एक हजार ६ सय १० किलो तौल भएको यो विद्युतीय कारमा राम्रो सस्पेन्सन प्रणाली भएको कम्पनीले बताएको छ।
यसमा पावर स्टेरिङ सेट अप, इन्फोन्मेन्ट फ्रेसमेन्ट स्क्रिन, जलवायु नियन्त्रण सुविधा, वाइफाइ जस्ता सुविधा छन्। त्यस्तै यसमा स्पीड र गियर व्यवस्थापन प्रणाली, नक्सा प्रदर्शन र स्टेरियो नियन्त्रणको सुविधा पनि छ।
कारमा १५.४ इन्चका एलो चक्का छन्।
विश्व अटो बजारमा तहल्का मच्चाएको ‘मोडल थ्री’ किन्न ७२ घन्टाभित्र तीन लाख ग्राहकले बुकिङ गरेका थिए। बुकिङ गर्न प्रतिकार एक हजार डलर जम्मा गर्नुपर्ने नियम थियो।
बुकिङ गरेकाले कार डेढ वर्षपछि मात्र पाउने त्यही बेला बताइएको थियो।
सिइओ मस्कले अगस्टसम्म १ सय, सेप्टेम्बरसम्म १५ सय र डिसेम्बरसम्ममा २ हजार कार उत्पादन गर्ने कम्पनीको लक्ष्य भएको बताएका छन्। यसका लागि कम्पनीले उत्पादन द्रुतगतिमा अघि बढाउने उनको भनाइ छ।
टेस्ला ‘मोडल थ्री’ को बिक्रीको रफ्तारलाई आश्चर्यजनक भनी टिप्पणी गरिएको थियो।
एक पटकको पूरा चार्जमा २१५ माइल (करिब ३४६ किमी) सम्म चल्ने भएकाले यसलाई विद्युतीय सवारीसाधनको दुनियाँमा कोशेढुंगा मानिएको छ। यसलाई चार्ज गर्न अमेरिका र अन्य देशका राजमार्गमा कम्पनीले चार्जिङ स्टेशनहरु राख्नेछ।
हाल भएका टेस्लाका दुई मोडलका कार मोडल एस र मोडल एक्स निकै महँगा छन्। कर नजोड्दा पनि यिनीहरूको मूल्य १ लाख डलरभन्दा बढी पर्छ। यस हिसाबले कम्पनीले मोडल थ्री भने निकै सस्तोमा उपलब्ध गराएको हो। त्यसलै मोडल थ्रीलाई कम्पनीको भविष्यका रूपमा विश्लेश्षकहरूले लिएका छन्।