भारतको अटोमोबाइल कम्पनी बजाज अटो विश्वव्यापी बजारमा प्रवेश गरेको छ।
बेलायती कम्पनी ट्रियूम्फ मोटरसाइकल्ससँग साझेदारी गर्दै बजाजले अब विश्वभरी बजार विस्तार गर्ने भएको हो।
अटो एनडिटिभीका अनुसार बजाज र ट्रियूम्फको साझेदारीबाट हाल मध्य क्षमताका मोटरसाइकल आउनेछन्। उनीहरुले ४०० देखि ८०० सिसि इन्जिनसम्मका उत्पादन गर्नेछन्।
घरेलु र अन्तर्राष्ट्रिय बजारमा बजाजले ट्रियूम्फ ब्रान्ड र मोटरसाइकल प्रविधि पाउनेछ। उसले पुणेस्थित आफ्नो प्लान्टबाट यी मोटरसाइकल उत्पादन गर्न बताइएको छ।
ट्रियूम्फले उच्च गुणस्तरका क्लासिक, रोडस्टर्स, क्रुजर र एडभेन्चर सेगमेन्टमा मोटरसाइकल उत्पादन गर्दै आएको छ।
यसको सबैभन्दा सानो इन्जिन नै ६७५ सिसिको छ। भारतीय बजारमा ट्रियूम्फको मूल्य साढे पाँच लाख भारूबाट सुरु हुन्छ।
बजाज भारतको दोस्रो ठूलो दुईपांग्रे कम्पनी हो। आफ्ना ७ ब्राण्डका साथै अष्ट्रियन कम्पनी केटीएमका मोटरसाइकल पनि यसले बिक्री वितरण गर्दै आएको छ।