यामाहा नेपालले २५० सिसिको 'एफजी २५ स्ट्रिटफाइटर' भित्र्याउने भएको छ।
निकै प्रतिस्पर्धात्मक २५० सिसि सेगमेन्टमा नयाँ मोडल ल्याउन लागेको नेपालमा यामाहा मोटरसाइकलको अधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ।
नयाँ एफजी २५ ले अहिले एफजी सिरिज चलाइरहेका ग्राहकलाई ‘आइडियल अपग्रेड’ मात्र नभएर ब्रान्डप्रति आकर्षित गर्ने एएमडब्लुका सह–महाप्रबन्धक दिपक रौनियारको भनाइ छ।
यामाहा भारतले सुरुमा यसको नाम ‘एफजी २५०’ राखेको थियो। पछि नामबाट ० हटाएर ‘एफजी २५ स्ट्रिटफाइटर’ राखेको हो।
कम्पनीका अनुसार यामाहा एफजी २५मा ओइल–कुल्ड २४९ सिसि सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिन छ। यसले ८००० आरपीएममा २०.६ बीएचपी शक्ति र ६००० आरपीएममा २० एनएम टर्क उत्पन्न गर्छ।
५–स्पिड गियर बक्स भएको यो मोटरसाइकल सिटी राइडमा आवश्यक पर्ने लो–एन्ड एक्सिलेरेसनका लागि उत्तम भएको कम्पनीको भनाइ छ।
यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोसक सस्पेन्सन छ। २८२ एमएम फ्रन्ट र २५७ एमएम रियर डिस्क ब्रेक भएको यो मोटरसाइकलमा ‘फुल एइडी हेडल्याम्प’ राखिएको छ, जुन २५० सिसि सेग्मेन्टमा पहिलो भएको कम्पनीको दावी छ।
एलइडी टेललाइट र अटोमेटिक हेडल्याम्प अन भएको यसमा यामाहाको प्याटेन्डेड ब्लुकोर प्रविधि छ। कम्पनीका अनुसार यसले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ।
यामाहा एफजी २५ तीन रङः ब्यालिस्टिक ब्लु, वारियर ह्वाइट र नाइट ब्ल्याक (निलो, सेतो र कालो)मा उपलब्ध हुनेछ।
एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर भएको यसको नेकेड स्पोर्टस् मोटरसाइकलमा छुट्टिएको (स्प्लिट) सिट छ। यामाहाकै एमटी मोडलबाट प्रभावित यसको चक्का अगाडि १००/८० र पछाडि १४०/७० सेक्सनको छ।
१६० एमएम ग्राउन्ड क्लियरेन्स भएको यसको इन्धन ट्यांकी क्षमता १४ लिटर छ।
भारतमा झैं नेपालमा २०० देखि २५० सिसि सेगमेन्टका मोटरसाइकलको माग बढ्दै गएकाले तुलनात्मकरुपमा कम मूल्यमा यामाहा एफजी २५ नेपाल भित्र्याउन लागिएको एमएडब्लुका रौनियार बताउँछन्।
यो आर १५ कै आसपासको मूल्यमा उपलब्ध हुने पनि रौनियारले बताए। आर १५ को मूल्य तीन लाख ५४ हजार नौ रुपैयाँ छ ।