दसैं नजिकिँदै छ।
सामान्यतया चाडवाडको अवसर पारेर सवारीसाधन किन्ने हाम्रो परम्परा नै बनिसकेको छ।
झन् काठमाडौंमा त दसैंअघि देशकै ठूलो अटो मेला ‘नाडा शो’ हुन्छ। बिक्रेता कम्पनीका लागि ग्राहक आकर्षित गर्ने र आफ्ना सामान देखाउने यो निकै राम्रो अवसर हुन्छ।
यसैलाई लक्षित गर्दै अटो कम्पनीले ग्राहकलाई विभिन्न सेवा, सुविधा तथा छुट दिएर आकर्षण गरिरहेका हुन्छन्।
यसवर्ष पनि अधिकांश कम्पनीले यस्तै ‘अफर’ हरु ल्याएका छन्।
पहिलो सुविधा त फाइनान्सिङको हो जसले गर्दा धेरै मध्यम आय भएकाले पनि कार किन्न सक्ने भएका छन्।
राष्ट्र बैंकको मौद्रिक नीति अनुसार ग्राहकले गाडी किन्दा ३५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने भए पनि कतिपय कम्पनीले केही प्रतिशत कम्पनीको तर्फबाट हालिदिने अफर समेत ल्याएका छन्।
हुण्डाइ नेपालले यसवर्ष ‘फेस्टिभल डिलाईट अफर’ ल्याएको छ। यसमा ग्राहकले ५ लाख रुपैयाँसम्मको छुट, १ वर्षे निःशुल्क बिमा, १० ग्राम सुन, बिदेश भ्रमण प्याकेज र बम्परमा कार उपहार लगायतका अफर छन्।
फोर्डले ‘क्यासमा क्यास अफर’ ल्याएको छ। यसअन्तर्गत ग्राहकले नियमित छुटसँगै लक्कि ड्र मार्फत ८० हजारदेखि ४ लाखसम्म छुट पाउन सक्नेछन्। यसका साथै कुनै पनि ब्राण्डका गाडी सट्ट्पट्टा, तीस हजार रुपैयाँसम्मको अतिरिक्त सामग्री लगायतका सुविधा कम्पनीले दिएको छ।
अन्य कम्पनीले पनि आफ्ना ‘अफर’ सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।